• २३ वैशाख २०८१, आइतबार

रमाइलो संसार

blog

सबैभन्दा सुन्दर पुरुष

बेलायती अभिनेता रेगे जेन पेजलाई संसारको सबैभन्दा सुन्दर पुरुषको उपाधि दिइएको छ । उनलाई दर्शकको रोजाइका आधारमा नभई एक वैज्ञानिक अनुसन्धानका आधारमा संसारकै सुन्दर पुरुष घोषणा गरिएको हो । ग्रिक गोल्डेन अनुपात समीकरणअनुसार उनलाई संसारको 

सबैभन्दा सुन्दर पुरुष घोषित गरिएको छ । अनुसन्धानकर्ता वैज्ञानिकका अनुसार जेन पेजको अनुहार साँच्चिकै मनी मेकर छ । ३४ वर्षीय अभिनेताको अनुहार उक्त समीकरणअनुसार ९३.६५ प्रतिशत पूर्ण पाइएको छ । ग्रिक गोल्डेन रेसियो समीकरणबाट कुनै पनि व्यक्तिको अनुहारको सुन्दरता तथा बनावटको आकलन गरिन्छ ।

हार्ले स्ट्रिट फेसियल कस्मेटिक सर्जन डाक्टर जुलियन डी सिल्भाले अत्याधुनिक कम्प्युटराइज्ड म्यापिङ प्रविधिको प्रयोग गरेर सूची तयार गरेकी थिइन् र उक्त सूचीलाई नतिजाको कसीमा जाँचिएको थियो । अभिनेता आफ्नो सुन्दर अनुहार तथा नसालु आँखाका कारण सूचीमा सबैभन्दा माथि परेका छन् । आफ्नो आँखाको सुन्दरता र अवस्थितिका कारण नै उनले सबैभन्दा धेरै अङ्क प्राप्त गरेर सर्वाधिक सुन्दर पुरुष बन्न सफल भएको उनको भनाइ छ । उनको अनुहारमा अरू सबै चिज शतप्रतिशत सुन्दर भए पनि उनको नाकको लम्बाइ तथा चौडाइका कारण भने केही कम अङ्क प्राप्त गरे । यस क्रममा ओठ, मुख, चिउँडोे, ओठको चौडाइ, अनुहारको आकार, नाक, आँखाको अवस्थिति र आकार, निधारलगायतका सबै अङ्ग मापन गरिएको थियो ।

 पृथ्वी जत्रै नयाँ ग्रह फेला

 सौर्यमण्डल बाहिर पृथ्वी जत्रै नयाँ ग्रह फेला परेको छ । गत वर्ष १० अर्ब डलर खर्च गरी अन्तरिक्षमा स्थापित जेम्स वेब टेलिस्कोपले नयाँ ग्रह फेला पारेको हो ।  उक्त ग्रह पृथ्वीसँग मिल्दोजुल्दो रहेको छ । वैज्ञानिकहरूले भविष्यमा उक्त ग्रहबारे थप नयाँ कुरा थाहा पाउन काम गर्ने योजना बनाएका छन् । 


अक्टान्स तारामण्डलमा अवस्थित उक्त चट्टानी ग्रह पृथ्वीबाट ४१ प्रकाश वर्ष पर छ । उक्त ग्रहको नाम एलएचएस ४७५बी राखिएको छ  । त्यहाँको तापक्रम पृथ्वीको भन्दा केही सय डिग्रीले बढी भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । उक्त ग्रहमा वायुमण्डल भए नभएकाबारे थाहा पाउने प्रयास जारी छ । उक्त ग्रहमा शनि ग्रहको चन्द्रमा टाइटनमा भएजस्तो मिथेन ग्यासको बाक्लो वायुमण्डल छैन । 

पृथ्वीको जत्रो आकारको चट्टानी ग्रहका यी प्रारम्भिक अवलोकनात्मक परिणामले भविष्यमा जेम्स वेबमार्फत यो ग्रहको वायुमण्डलबारे अध्ययन गर्न सम्भावनाको ढोका खोलेको नासाका निर्देशक मार्क क्लाम्पिनले बताए । 

मूल्यवान् धातुको क्षुद्रग्रह 

अन्तरिक्षमा मूल्यवान् धातुको क्षुद्रग्रह घुमिरहेको छ । यसको मूल्य गणना गर्न पनि गाह्रो छ । यो क्षुद्रग्रहमा रहेको धातुको कुल मूल्य सात सय करोड खर्ब डलर बराबर रहेको अनुमान गरिएको छ । अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले क्षुद्रग्रहको अन्वेषण गर्ने योजना बनाएको छ ।

यो क्षुद्रग्रहको नाम १६ साइकी हो । यसलाई सन् १८५२ मा इटालीका खगोलशास्त्री एनिबेल डी ग्यास्परिसले पत्ता लगाएका थिए । यसका विषयमा अझै धेरै खोज अनुसन्धान गर्न नासाले क्षुद्रग्रहसम्म पुग्ने योजना बनाएको छ । यो क्षुद्रग्रह २२६ किलोमिटर चौडा छ र निकेल तथा सिलिकाबाट बनेको छ । नासाले यो क्षुद्रग्रहसम्म पुग्न सन् २०२२ को अगस्टमा साइकी यान प्रक्षेपण गर्ने योजना बनाएको थियो तर प्राविधिक समस्याका कारण यान प्रक्षेपण हुन सकेन ।  आगामी अक्टोबर १० मा साइकी क्षुद्रग्रहमा यान प्रक्षेपण गर्ने निर्णय नासाले गरेको छ । उक्त यान सन् २०२९ मा क्षुद्रग्रहको सतहमा पुग्नेछ । 


अन्तरिक्षयात्रीले गरे चौथो विवाह 

विश्व प्रसिद्ध अन्तरिक्षयात्री बज एड्रिनले ९३ वर्षमा चौथो विवाह गरेका छन् । लामो समयदेखि  प्रेमिका रहेकी एन्क फाउरसँग उनीले विवाह गरेका हुन् । फाउर ६३ वर्षकी छन् । 

एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसकेका थिए तर उनीहरूसँग सम्बन्धबिच्छेद भइसकेको छ । उनीहरूबाट एड्रिनका तीन सन्तान छन् । विवाहका बारेमा उनले आफू किशोर अवस्थामा पुगेको भन्दै किशोर प्रेमीको जस्तै अनुभव भएको बताएका छन् । नील आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने एड्रिन दोस्रो व्यक्ति हुन् ।  एड्रिन सन् १९६९ मा एपोलो इलाभेन यानमा चन्द्रमा पुगेका थिए । आर्मस्ट्रङसँग चन्द्रमा पाइला टेकेका उनी सन् १९७१ मा अन्तरिक्षयात्रीबाट सेवानिवृत्त हुनुअघि १२ दिन अन्तरिक्षमा बिताएका थिए ।  

चिट्ठाले बनायो अर्बपति

क्यानडाको ओन्टारियोमा बस्ने जुलियट लेमोर नामकी युवतीलाई चिट्ठाले अर्बपति बनाइदिएको छ । उनले हालै आफ्नो १८औँ जन्मदिन मनाइन् । आफ्नो विशेष दिनका लागि केही किनमेल गर्न उनी प्रायः एउटा सुपरमार्केटमा जाने गर्छिन् । 

यस पटक जन्मदिनका लागि के किनौँ भनेर उनी अलमलमा थिइन् । त्यसै बेला उनका हजुरबाले उनलाई एउटा चिट्ठा किन्ने सल्लाह दिए । उनलाई चिट्ठा कसरी खरिद गर्ने भन्ने मेसो थिएन । त्यसैले उनले आफ्ना बुवालाई फोन गरेर सोधिन् । त्यसपछि उनले ओन्टारियो लटरी तथा गेमिङ कर्पोरेसनमा गइन् र लटरी खरिद गरिन् । उनले लोट्टो ६–४९ लटरी किनिन् र घर फर्किइन् ।


चिट्ठा किनेको केही समयपछि नै उनले त्यो कुरा बिर्सिइन् । एकदिन उनले आफ्ना एक छिमेकीले लटरी जितेको कुरा सुनिन् । त्यसपछि मात्र उनलाई आफूले पनि सो दिन टिकट किनेको सम्झना आयो । उनले हत्तपत्त आफ्नो मोबाइल एपमा गएर लटरीको अपडेट हेरिन् ।

त्यसपछि त के चाहियो ? उनले सोही भाग्य चिट्ठाबाट चार करोड ८० लाख क्यानेडियन डलर जितिन् । जुन करिब चार अर्ब ७४ करोड नेपाली रुपियाँ बराबर हुन्छ ।