परियोजना निर्देशकका रूपमा भारतको पहिलो स्वदेशी उपग्रह एसएलवी निर्माणमा उनले महत्वपूर्ण योगदान दिए ।
सन् १९३१ अक्टोबर १५ मा भारतको तमिलनाडु राज्यको रामेश्वरममा जन्मिएका अवुल पकिर जैनुलाअबदिन अब्दुल कलाम पछि गएर अब्दुल कलाम नामबाट चिनिए । उनका पिताको नाम जैनुलाब्दीन माराकायार र माताको नाम आसियम्मा जैनुलाब्दीन थियो ।
उनका पिता डुङ्गा सञ्चालक तथा स्थानीय मस्जिदमा इमाम थिए भने माता गृहिणी थिइन् । उनका पिता साधारण लेखपढ गरेका मध्यम परिवारका व्यक्ति र नियमका पक्का थिए । उनका पिता माझीहरूलाई नाउ भाडामा दिने काम गर्थे । अब्दुल कलाम संयुक्त परिवारमा रहन्थे । उनको परिवारमा उनीसहित चार भाइ र एक बहिनी थिइन् । जसमध्ये कलाम सबैभन्दा कान्छा थिए ।
कलामको जीवनमा सफलता हासिल गर्नका लागि उनका पिताको धेरै प्रभाव रह्यो । पढेलेखेको नभए पनि पिताले दिएको संस्कार अब्दुल कलामको जीवनमा सफलता हात पार्न निकै नै महत्वपूर्ण बन्यो । कलाम पाँच वर्षको उमेरमा रामेश्वरमको पञ्चायत प्राथमिक स्कुलमा भर्ना भएका थिए । उनले आफ्नो प्रारम्भिक शिक्षालाई नियमितता दिन बिहानको समयमा अखबार बेच्ने कामसमेत गरे ।
कलामले सन् १९५८ मा मद्रास इन्स्टिच्युट अफ टेक्नोलोजीबाट अन्तरिक्षविज्ञानमा स्नातकको उपाधि हासिल गरेका थिए । स्नातक गरिसकेपछि उनले हावरक्राफ्ट परियोजनामा काम गर्न भारतीय रक्षा अनुसन्धान एवं विकास संस्थानमा प्रवेश गरे । सन् १९६२ मा उनी भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनमा आबद्ध भए । जहाँ उनले कैयौँ उपग्रह प्रक्षेपण परियोजनामा भूमिका निर्वाह गरेका थिए ।
परियोजना निर्देशकका रूपमा भारतको पहिलो स्वदेशी उपग्रह एसएलवी निर्माणमा उनले महत्त्वपूर्ण योगदान दिए । जसलाई सन् १९८० जुलाईमा रोहिणी उपग्रहका नामले सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपित गरिएको थियो ।
कलामलाई प्रोजेक्ट डाइरेक्टरका रूपमा भारतको पहिलो स्वदेशी उपग्रह (एसएलवी तृतीय) बनाउने श्रेय जान्छ । कलामले स्वदेशी लक्ष्यभेदी (गाइडेड मिसाइल) को डिजाइनसमेत गरे । उनले अग्नि एवं पृथ्वी जस्ता मिसाइललाई स्वदेशी प्रविधिमा बनाएका थिए । त्यस्तै पोखरणमा अर्को पल्ट परमाणु परीक्षणमा पनि उनको योगदान रह्यो ।
कलाम भारत सरकारको मुख्य वैज्ञानिक सल्लाहकार पनि रहे । १९८२ मा भारतीय रक्षा अनुसन्धान एवं विकास संस्थानमा निर्देशकका रूपमा उनको पुनरागमन भयो । त्यसपछि उनले आफ्नो सारा ध्यान ‘गाइडेड मिसाइल’ को विकासमा केन्द्रित गरेका थिए । सन् २००२ जुलाई १८ मा डा. कलाम भारतको ११ औँ राष्ट्रपति चुनिए । उनलाई भारतीय जनता पार्टी र वाम दलका अतिरिक्त अन्य दलले समेत समर्थन गरेका थिए ।
कलाम व्यक्तिगत जीवनमा अनुशासित, शाकाहारी र ब्रह्मचारी थिए । उनले कुरान र भागवत् गीता अध्ययन गर्थे । कलाम राजनीतिक क्षेत्रका व्यक्ति नभए पनि उनी राष्ट्रवादी सोचाइ रादख्थे र अन्ततः उनी भारतको राष्ट्रपति नै बन्न सफल भए । उनलाई विभिन्न ३० विश्वविद्यालय र संस्थानमा डाइरेक्टरको उपाधिसमेत दिइएको थियो ।
उनको योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् १९९१ मा भारतको सर्वोच्च सम्मान ‘भारत रत्न’ बाट सम्मान गरेको थियो । यसका साथै उनलाई भारत सरकारले सन् १९८१ मा ‘पद्भ भूषण’ र सन् १९९० मा ‘पद्म विभूषण’ ले सम्मान गर्यो ।
कलामका विङ्ग्स अफ फायर (सन् १९९९), यु आर बर्न टु ब्लुसम (सन् २०११), फेइलर टु सक्सेस : लिजेन्डरी लाइभ (सन् २०११), यु आर युनिक : स्केल न्यु हाइटस वाई थट एन्ड एक्सेन (सन् २०१२), थटस् फर चेन्ज : वी क्यान डु इट (सन् ०१३), स्पिरिट अफ इन्डिया (सन् २०१३), दी फेमली एन्ड दी नेसन (सन् २०१५), एडभान्टेज इन्डिया : फ्रम च्यालेन्ज टु अपरच्युनिटी (सन् २०१५) र इन्डिया २०२० (सन् २०२०) लगायत दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
कलामले आफ्नो जीवनी ‘विङ्ग्स अफ फायर’ भारतीय युवालाई मार्गदर्शन प्रदान गर्ने उद्देश्यले लेखेका थिए भने ‘गाइडिङ सोल्स डायलग्स अफ दी पर्पज अफ लाइफ’ मा आत्मिक विचारलाई उद्घाटित गरेका छन् । उनको पुस्तक ‘इन्डिया २०२०’ मा राजनीतिक दृष्टिकोणबारे उल्लेख छ ।
विनम्र, सरल र प्रेरणादायी स्वभावका धनी कलामको ८३ वर्षको उमेरमा भारतको मेघालयको सिलोङमा सन् २०१५ जुलाई १७ का दिन निधन भयो । उनी सिलोङस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीको निमन्त्रणामा प्रवचन दिँदादिँदै हृदयाघातका कारण बेहोस भएका थिए र त्यसलगत्तै प्राण त्याग गरेर संसारबाट बिदा भए ।
कलामका कालजयी भनाइ
- एउटा असल पुस्तक सय साथी बराबर हुन्छ तर एउटा असल साथी पूरै पुस्तकालय बराबर हुन्छ ।
- सफलताका कथा मात्र नपढ । त्यहाँ मात्र एउटा कथा हुन्छ । बरु असफलताको कथा पढ । त्यहाँ तिमीले सफलताका निम्ति बाटो पत्ता लगाउन सक्छौ ।
- कुनै पनि धर्मले आफूलाई माथि देखाउन मान्छे मार भन्दैन ।
- युवा अवस्था नै त्यस्तो अवस्था हो जसमा सबैभन्दा बढी कल्पना शक्ति, उत्साह हुन्छ तर विवादमा आउने सम्भावना कम रहन्छ ।
- विद्यार्थीमा हुनुपर्ने सबैभन्दा उत्कृष्ट गुण भनेको प्रश्न गर्ने बानी हो ।
- सानो लक्ष्य राख्नु भनेको अपराध जस्तो हो ।
- जन्मदिन त्यस्तो दिन हो जहाँ सन्तान रुँदा आमा औधी खुसी हुन्छिन् । त्यसपछि कुनै पनि दिन सन्तान रुँदा आमालाई पीडाबोध हुन्छ ।
- रिस उठ्दा कराउनका लागि तागत चाहिँदैन तर रिस उठ्दा मौन रहन धेरै तागत चाहिन्छ ।
- तपाईं विकास चाहनुहुन्छ भने देशमा शान्ति आवश्यक छ । शान्तिको स्थापना शक्तिले हुन्छ ।
- सपना साँचो हुनका लागि सपना देख्न जरुरी छ । जसले महान् सपना देख्दछन् उनीहरूको सपना अवश्य पूरा हुन्छ ।
- महान् मान्छेका लागि धर्म मित्रताको मार्ग हो तर ‘साना’ मान्छे यसलाई लडाइँको साधन बनाउँछन् ।
- सफलताको रहस्य के हो ? सही निर्णय । सही निर्णय कसरी गरिन्छ ? अनुभवबाट । अनुभव कसरी हासिल हुन्छ ? गलत निर्णयबाट ।
- उत्कृष्टता आकस्मिक घटना होइन निरन्तर प्रयासको फल हो ।
- जब पानी पर्छ तब सबै चरा ओत खोज्नतिर लाग्दछन् तर बाज भने बादलभन्दा माथि उडिदिन्छ । समस्या सबैलाई पर्दछ तर फरक पार्ने भनेको समस्याप्रतिको तिम्रो प्रतिक्रियाले हो ।
- असफलता नामक रोगलाई परास्त गर्ने पक्का औषधी भनेको आत्मविश्वास र कडा मेहनत हो ।
- एउटा मूर्खले ‘म त मूर्ख रहेछु’ भन्ने थाहा पायो भने ऊ विद्वान् बन्न सक्छ । एउटा विद्वान् ‘म त विद्वान् पो हो त’ भन्न लाग्यो भने ऊ मूर्ख बन्न पुग्छ ।
- पहिलो जितपछि आराम गर्नतर्फ नलाग । यदि तिमी दोस्रो प्रयासमा हार्न पुग्यौ भने प्रायः मानिसले तिम्रो पहिलो जितलाई भाग्यले जितेको भन्ने ठान्ने छन् ।
- यदि तिमी सूर्य जस्तै चम्कन चाहन्छौँ भने पहिले सूर्य जस्तै जल्न सिक ।
- सपना भनेको त्यो होइन जुन तिमी सुत्दा देख्दछौ । बरु सपना त्यो हो जसले तिमीलाई सुत्न दिँदैन ।
- कसैलाई हराउन निकै सरल छ तर कसैलाई जित्न बहुत कठिन हुन्छ ।
- राष्ट्रको सबैभन्दा उत्कृष्ट मस्तिष्कवान् व्यक्ति कक्षाकोठाको अन्तिम बेन्चमा भेटिन सक्छ ।
- छोराछोरीलाई तपाईं माया दिन सक्नु हुन्छ तर विचार दिन सक्नु हुन्न किनभने उनीहरूका आफ्नै विचार हुन्छन् ।
- कम्पनीलाई भन्दा आफ्नो कामलाई माया गरौँ किनकि तपाईंको कम्पनीले कतिबेला माया गर्न छोड्छ भन्ने तपाईंलाई थाहा नहुन सक्छ । –युवामञ्च