• ९ मंसिर २०८१, आइतबार

जीवन र साहित्य

blog

रिचर्ड डार्क नामक अङ्ग्रेज लेखकले एक ठाउँमा लेखेका छन्– “कसैले मलाई साहित्य किन अध्ययन गर्छौ भनेर सोधे, ‘खान लाउनका निमित्त सर्वथा अनुपयोगितारूपी अमोल गुणयुक्त हुनाले म साहित्यको अध्ययन गर्दछु’ भन्ने उत्तर दिन्छु । यो निकम्मा छ तसर्थ म यसलाई रुचाउँछु ।

सदैव निराहार बस्न नसकिने संसारमा योभन्दा ‘अजीव’ उत्तर के हुन सक्छ र ? दुनियाँ लागिरहेछ अर्थको खोजमा, आबालवृद्धवनिता धनसञ्चय गर्ने उपायको खोजमा अनुरक्त छ, नखाई बाँच्न नसकिने शरीरको बनावट छ, विज्ञानको गतिमा संसारको कार्यक्रम चलिरहेछ, योग्यताको परिचय दिन सके मात्र जिउने अधिकार प्राप्त हुन्छ भन्ने प्राकृतिक नियमको द्रुतसञ्चालन भइरहेछ; यस्तो विश्वव्यवस्था देख्दादेख्दै पनि साहित्यिक भन्छ ‘म साहित्य रुचाउँछु, कारण यो अनुपयोगी छ ।’ 

तब प्रश्न उठ्छ, के साहित्यको अनुपयोगिता नै साहित्यको सर्वश्रेष्ठ गुण हो ? साहित्यिक यो प्रश्नले किञ्चित मात्र पनि विचलित नभई उत्तर दिन्छ, खानु र लाउनु नै जीवनको अनिवार्य प्रधान लक्ष्य भए साहित्यको गुण यसको उपयोगितामै छ । खानु र लाउनु जीवनका अनिवार्य कर्म हुन् तर जीवनमा खानु र लाउनु मात्र छैन, बाँच्नु छ, बाँच्नका निम्ति साहित्यको आवश्यकता छ ।

मानिस एउटा (कविका शब्दमा) तीनतारे सारङ्गी हो । मानिसको जीवनमा ती तीनै तार बज्नुपर्छ र मात्र मानिसले आफ्नो मनुजत्वको अस्तित्व स्थायी राख्न सक्छ । ती तीन तारमध्येको कुनै तारले बज्ने अवसर पाएन भने मानिस मानिस रहँदैन, अर्कै केही हुन जान्छ । चेतना, सम्झना र इच्छा यी तीन तारले मानिसका सम्पूर्ण कार्यक्रमको तारतम्य बसाएको छ । यिनै तारलाई स्वरपूर्ण राख्न साहित्यको आवश्यकता छ । 

चेतनाले मानिसलाई कुनै वस्तुको उपस्थिति वा अनुपस्थिति जनाउँछ, चेतनाद्वारा प्राप्त भएको धातुले मानिसको सम्झनाको डोरो निर्णय गर्छ । सम्झनाको पछिल्लो खुड्किलो इच्छा हो । इच्छाले प्रकाश हुने द्वार हेर्छ, प्रकाश हुने साधन हेर्छ । इच्छा प्रायः मुखबाट शब्द रूपमा वा बोलीमा प्रकाश हुन्छ । यही शब्द वा बोली साहित्य सिर्जनाको वस्तु हो । 

इच्छामा वेदना छ । इच्छाको जन्म अभावको ज्ञान हुनाले हुन्छ । अभावमा दुःखको आभा छ । यसर्थ धेरैजसो साहित्यिक रचनामा दुःखको तरङ्ग उठेको देखिन्छ । साहित्यको जन्म हुन्छ त्यो आन्तरिक अभावको पूर्तिका निम्ति । सायद यही मानसिक अभाव र वेदनाको पुकार साहित्यमा सुनेर मिल्टनले साहित्यलाई “परजन्मका निम्ति सञ्चय गरिएको महान् आत्माको अमूल्य जीवनमा रक्तस्रोत” सम्झेका थिए– यही भावनाले प्रेरित भएर सेलीले “सबैभन्दा ठूलो दुःखको वर्णन गर्ने गीत नै हाम्रो सबैभन्दा मीठो गाना हो” भनेका थिए । 

वेदनाले कुनै न कुनै रूपमा प्रकाश पाउनै पर्छ नत्र व्यथित हृदय आफैँ नष्ट हुन्छ । यस दृष्टिबाट हेर्दा मानिसको जीवन नष्ट हुन नदिने एउटा साधन साहित्य नै रहेछ भन्ने देखिन्छ । हजारौँ वर्षअघि साहित्य थिएन, त्यतिबेला केले मानिसको अस्तित्व मेट्न दिएन भन्ने प्रश्न कसैले उठाए त्यस प्रश्नको उत्तरमा हामी भन्छौँ, साहित्यको निर्माणमा चाहिने सम्पूर्ण सर्जाम त्यतिबेला पनि थियो तर साहित्यको जन्म अक्षरमा भएको थिएन । त्यतिबेला पनि अस्पष्ट साहित्य थियो तर साहित्य कलाको दर्जामा थिएन । सभ्यता र संस्कृतिले ती शब्दमा मात्र व्यक्त भएका भावनालाई पछि अक्षरमा बाँधी साहित्यकलाको जन्म दियो । साहित्यले परिणाममा सभ्यता र संस्कृतिलाई उच्च कक्षामा ल्यायो । 

यसरी हेरेका खण्डमा साहित्यको विकास जीवनरक्षासँग गाँसिएको देखिन्छ । तर इच्छाले प्रकाश हुने मार्ग अरू पनि पायो । यी मार्गलाई हामी कला शब्दले एकत्रित पार्न सक्छौँ । कला र जीवनको सम्बन्धले साहित्य र जीवनको सम्बन्ध जाहेर गर्छ । 

साहित्यमा विस्मयताको रङ्ग मात्र छैन, प्रफुल्लताको उल्लास पनि छ, कति साहित्यिकले भन्लान् । तिनीहरूको विचार सत्यतापूर्ण ठहरिए पनि साहित्यप्रति माथि जाहेर गरिएको मत भङ्ग हुँदैन । कारण हर्ष प्रकट नगर्नु पनि वेदना हो, शरीरले यो सहँदैन । यसर्थ हर्ष प्रकाश गरेर हामी भित्री मर्मलाई हृदयमा जम्न दिँदैनौँ । फेरि, विस्मयताको रङ्गले नलतपतिएको हर्ष नै कहाँ छ र ? सायद त्यस्तो चोखो हर्ष बाल्यकालमा पाइएला तर त्यस्तो हर्षको अनुभव भएको नियालेर हेरेमा हामी थाहा पाउँदैनौँ । धेरै मानिसले त त्यस्तो चोखो हर्ष छँदै छैन पनि भनेका छन् । शारदामा पनि कहिले हो “सुख पनि दुःखकै चेरा छ” भन्ने पढिएको थियो । 

साहित्यको उत्पत्ति जीवन ननिसासियोस् भनेर भएको हो तर के यसको वृद्धि जीवनरक्षाकै निम्ति भइरहेछ अथवा कुनै अरू कुराको अभाव हटाउन ? यो प्रश्न हामी साहित्यिकलाई अवश्य गर्न चाहन्छौँ । हामीले जानेका कतिपय विषयको उत्पत्ति भयो एउटा कार्यका निम्ति, त्यसैको वृद्धि भयो अर्को कर्मका निम्ति । मानवजीवन सुगम पार्न बारुदको भएथ्यो तर यसैको वृद्धि र प्रचुर प्रयोग भयो मानव जीवनको संहारका निम्ति । साहित्यको इतिहासले के देखाउँछ, यो खाज गर्न लायकको विषय छ । 

साहित्य जीवनरक्षार्थ उत्पन्न भएको हो, जीवन रक्षा गर्ने यो मात्र एउटा होइन, तर यो पनि साधन हो । “पुस्तकमा जीवनको शक्ति छ”, “एउटा असल ग्रन्थ नष्ट गर्नु र एउटा मानिसको हत्या गर्नु बराबरै हो” भनेर मिल्टनले भनेका छन् । साहित्यको वृद्धि मानवजीवन सुगम र सफल पार्ने तथा प्रत्येक मानिसको जीवनलाई पूर्णतया विकास दिने प्रयत्नमा भएको छ । 

जुन संसारमा हामी बसेका छौँ, बाँचेका छौँ अनि स्वविचारअनुसार कार्य गरिरहेछौँ, त्यही संसारमा हामीजस्तै विचार भएका, स्वविचारअनुसार कार्य गर्ने इच्छाले प्रेरित हामीजस्ता अरू व्यक्ति छन् । त्यस्ता करोडौँ व्यक्तिमध्येमा हामी केवल एउटा हौँ । हाम्रो दृष्टि हामै्र हो, अरूको होइन, हाम्रो विचार हाम्रै हो, अरूको होइन, हाम्रो जो हो त्यो अर्काको होइन, अर्कादेखि लिए पनि हामीले लिएको हाम्रै हुन्छ, त्यसलाई हामी आफ्नै ठान्छौँ । तर त्यस्तो ठान्ने हक अरूको पनि छ । कहिलेकाहीँ हाम्रो मतमा भेद हुनआउँछ, त्यस बेला के गर्ने ? साहित्यले सिकाउँछ, हामीलाई पराइको दृष्टिबाट निरपेक्ष भई मतभेद भएको विषयको निरीक्षण गर्न अनि विभिन्नतालाई हटाउन । सहानुभूतिको फराकिलो अर्थ यही हो । 

यो लेखका कुनै पाठकले सायद नाक चेप्राएर भन्लान् साहित्यलाई गुराँसको फूल लाइदिएको मात्र हो । उनीहरूले देखाउलान् वेन जन्सनका औपहासिक नाटक जसले अर्काको उपहास गर्न लगाउँछ, अनि अट्टहास गर्न सिकाउँछ । ड्राइडेन र पोपका व्यङ्ग्यात्मक कविता जसमा अर्काको निन्दा र खिसी मात्र छ, स्कटका कविता जसले स्वदेशभक्ति जागृत गराएर शत्रु संहार गर्न सु¥याउँछ, अनि सोध्लान् के ती लेखकका त्यस्ता काव्य साहित्य होइनन्, के ती काव्यले सहानुभूतिको पाठ पढाउँछन्, साहित्यिक विनीत भावले शिर निहु-याई उत्तर दिन्छ ‘सम्झनुमा भूल भयो ।’ 

वेन जन्सनका नाटकले उपहास सिकाउँछ तर त्यो उपहासको भित्री तात्पर्य उपहासपात्रलाई निन्दित तुल्याई समाजबाट मिल्काउनु होइन तर त्यस पात्रको समाजानुचित व्यवहारको उपहास गरी उसलाई त्यो अनुचित, अस्वाभाविक, अमानुषिक व्यवहार त्याग्न लगाई, उपयुक्त स्थान दिई समाजमा प्रवेश गराउनु हो । वेन जन्सनका औपहासिक नाटकमा दया छ, क्रूरता छैन । ड्राइडेनका व्यङ्ग्यात्मक कविताको उद्देश्य ड्राइडेन आफैँले दिएका छन् । त्यसमाथि लेखकले केही थप्ने प्रयोजनै छैन । पोपको व्यङ्ग्यको रछानले पोपकै मुखमा छिटा प¥यो, यसर्थ त्यसप्रति पनि यहाँ उल्लेख गर्ने उति जरुरत छैन । स्कटका कविताले देशभक्ति र उदारता सिकाउँछ । 

कतिले फेरि भन्लान्, ‘यी कुरा धर्मग्रन्थले सिकाउँछन्’ । ‘साहित्यको के प्रयोजन ?’ यसो भन्नेहरूसँग साहित्यिक भन्छ, ‘धर्मग्रन्थ र साहित्यमा केको पार्थक्य छ ? धर्मग्रन्थ साहित्य हुन सक्तैन भन्ने नियमै के छ र ? यति हो सम्पूर्ण साहित्य धर्म होइन न त सम्पूर्ण धर्मग्रन्थ नै साहित्य हुन् । साहित्यले धर्मग्रन्थको पाठ सिकाउँछ; साहित्य र धर्मग्रन्थमा उद्देश्यमा विभिन्नता छैन, उपायमा विभिन्नता छ । धर्मले ‘गर’ भनेर कर लगाउँछ । मानव प्रकृति आदेशको विरुद्ध खडा हुन्छ र धर्मका नियम भङ्ग गर्न मानिस अघि सर्छ । साहित्यले गर नभनी कुनचाहिँ गर्नु असल हो, त्यो दर्साउँछ । यसर्थ साहित्यले सिकाएको पाठ बरु मानिसले घोक्ला धर्मग्रन्थले सिकाएको पाठ हत्तपत्त घोक्तैन । यसै कारणले होला संसारका ठूला ठूला धर्मग्रन्थ साहित्यिक ढाँचामा लेखिएका पनि छन् । यही बुझेर होला वर्डस्वर्थले “म कि त गुरु कहलाउन चाहन्छु कि त केही न केही” भनेका थिए ।

धर्मग्रन्थले आदर्श मानेका महान् उद्देश्य त साहित्यका पनि उद्देश्य हुन् तर ती उद्देश्यको प्रचार गर्ने क्रियामा धर्मग्रन्थ र साहित्यमा अन्तर छ । धर्मग्रन्थले मानिसको तार्किक स्वभाव सन्तुष्ट नगरी पाण्डित्य दर्साउँदै आफ्नै मत प्रचार गर्दछ । तार्किक स्वभावले बनिएको मानव मस्तिष्क त्यसरी जबरजस्ती बसालेको सिद्धान्तलाई तर्कको कसीमा नछुवाई स्वीकृति जनाउँदैन त्यसर्थ अध्यात्मको उत्पत्ति भएको हो । त्यही कारणले होला बढ्दो नवयुवक कवि शेलीले ‘नास्तिकताका प्रयोजन’ भन्ने निबन्ध लेखेको । उतापट्टि साहित्यले भने समाजलाई दर्पण देखाई हामीलाई हामी को हौँ, के गरिरहेछौँ, हाम्रो प्रस्थान कुन दिशातर्फ भइरहेको छ इत्यादि विषयतर्फ औँलो ठड्याई निर्देश गर्छ । हामी आफ्नो भूल आफैँ देख्छौँ अनि त्यसको संशोधन आफैँ गर्न थाल्छौँ । अर्काले स्पष्ट निर्देशन गरेका भन्दा आफ्नै अनुसन्धानले थाहा पाएको भूल सच्याउनु अहं भावले पूर्ण भएको मानिसको स्वभावै हो । साहित्यमा भएको यही गुणको कदर गर्दै आर्नल्डले कवितालाई ‘जीवनको समालोचना’ मानेका थिए । 

कैयौँ विद्वान्ले साहित्यलाई दुःखमा सान्त्वना दिने मित्र, भयमा निरापद्को छाहारी, विवशतामा आशाको टेवा, एकान्तमा वार्ता गर्ने सङ्गाती र मानसिक अन्धकारको प्रकाश मानेका छन् । यही दृष्टिबाट साहित्य निरीक्षण गरी गेकी जस्ता वैज्ञानिकले ‘शिक्षामा विज्ञान’ भन्ने भाषणमा आफ्ना श्रोतालाई साहित्यको अध्ययन गर्नु भन्ने सल्लाह दिएका छन् । उक्त गुणहरू विविधांशमा साहित्यमा पाइन्छन् । ती गुणहरू साहित्यमा अनेकौँ गुणमाका केही हुन् । तर गुणवेष्ठित मात्र सम्झनु सङ्कीर्ण दृष्टिले साहित्यको आलोचना गर्नु तथा अयोग्यतासाथ साहित्यको मूल्य निरूपण गर्नु हो । मानव जीवनमा अपूर्णत्वको प्राधान्य देखिनाले त्यो अपूर्णत्यको पूर्ण परिचय दिई त्यसको मूलोच्छेद गर्ने प्रयासलाई सफल तुल्याउन नै साहित्यको जन्म भएको हो । यसर्थ जीवनमा साहित्यको मोल अनि जीवन र साहित्यको सम्बन्ध गेकीले दर्साएको भन्दा केही गहिरो छ ।

जीवन बनिएको छ अनुभवको प्रचुरताले । तिनै अनुभवलाई वशीकरण गरी विकास गर्ने साहित्यको एउटा प्रशंसनीय प्रयास हो । अहंको विडम्बना, हृदयको छटपट, जीवनको अभिलाषा, ऊभित्र दबेको सूक्ष्म आकाङ्क्षा, अनुभूतिको विवशता र जीवनको स्वप्निल शून्यताको साथसाथै विडम्बनाको मूल, छटपटाउनको कारण, आशाको प्रयोजन र शून्यताको न्यूनता जाहेर गर्दै यिनलाई एकत्रित रूपमा ल्याई जीवनको मोल ठम्याउनु साहित्यको ध्येय हो । साधारणतः जीवन र साहित्य शब्द हामी बेग्लाबेग्लै अनुभूतिको निम्ति प्रयोग गर्छौं तर साहित्य जीवनको एउटा आवश्यक अङ्ग हो । यही अङ्गले हामी हाम्रो सभ्यताको जाँच गर्छौं । यथार्थमा कुनै जातिको सभ्यताको बढीकरण आध्यात्मिक विचारको उन्नति, वैज्ञानिक विचारको वृद्धि र आर्थिक कुशलताले भन्दा साहित्यिक विकासले नै असल तवरले अजमाउँछ । कारण साहित्यले हाम्रो सर्वश्रेष्ठ प्रयास, सर्वोच्च आदर्श उत्तमोत्तम अभिलाषा र शोचनीय असफलताको परिचय दिन्छ । असफलताले हाम्रो पारिश्रमिक प्रयासको औदार्य र महानताको परिचय दिन्छ । हाम्रो निष्फल प्रयासले हाम्रो आत्माको विशालता जाहेर गर्छ । यसर्थ जीवनमा साहित्यको के मोल छ लेखक पूर्णरूपले प्रकाश गर्न सर्वथा अशक्त छ ।

यिनै गुणको विवेचना गरेर कैयौँ कलाकारले साहित्यलाई सत्य, शिव र सुन्दरलाई प्रकाश गर्ने साधन सम्झेका छन् । साकार र सीमित मानव आत्मालाई निराकार, असीमित परमात्मातर्फ फर्काउने उपाय मानेका छन् । सेलीले यही विचारलाई प्रकट गर्दै कवितालाई “सम्पूर्ण ज्ञानको केन्द्र र परिधि” ठानेका थिए, वर्डस्वर्थले “सम्पूर्ण ज्ञानको श्वास र कोमल आत्मा तथा सारा विज्ञानको मुहारमा भएको द्युत्युत्पादक भावनाको प्रकटशीलता एवं मानव प्रकृतिको मूर्ति” मानेका थिए । साहित्यको विशालताले दङ्ग परेका आर्नल्डले भनेका छन्, “मानव जातिले जीवनमा शान्ति, जिउने शक्ति र जीवन अनुवाद गर्न कवितातर्फ फर्कनुपर्छ भन्ने कुरा गुरुतर अंशमा चाल पाउँदै जानेछन् ।”

जीवन र साहित्यको सम्पर्क, सम्बन्ध र दृढगठनशीलता स्पष्टै जाहेर छ तथापि रिचर्ड डार्कले भनेको, “खान लाउनका दृष्टिबाट साहित्य निकम्मा छ र त्यही अनुपयोगिता नै मेरा निम्ति मूल्यवान् छ” हामी गद्गदाउँदै दोहो-याउँछौँः 

“पढी भाइ सबै अब काव्य मीठो

मन माझी गरौँ निज बुद्धि ढिटो ।”  

(सप्त शारदीय सा.प्र. २०३५ बाट)