• ७ पुस २०८२, सोमबार

भैलो खेलेर ‘पाटीभात’ खाने चलन

blog

भैलो खेल्दै जुम्लाका महिला । तस्बिर : गोरखापत्र

नौरते नेपाली

जुम्ला, पुस ७ गते । जुम्लामा यतिबेला परम्परागत रूपमा खेलिँदै आएको भैलो सुरु भएको छ । पुसे औँसीदेखि पाँच दिनसम्म भैलो खेलिने चलन रहेको छ । जसलाई स्थानीय भाषामा ‘ए औँसी बार’ पनि भन्ने गरिन्छ तर पछिल्लो समय जुम्लामा पुस्तौँदेखि खेलिँदै आएको भैलो संस्कृति क्रमशः लोप हुँदै गएको छ ।

अहिले सीमित सङ्ख्यामा मात्रै महिलाले भैलो खेलेको देखिन्छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार भैलो खेल्ने उमेर समूहका युवकयुवती रोजगारी र अध्ययनलगायत कारणले जिल्लाबाहिर जान थालेपछि यो परम्परा कमजोर बन्दै गएको बताउनुभयो । भैलो खेल्दा सङ्कलन गरिएको चामलबाट ‘पाटीभात’ (वनभोज) खाने चलन रहेको छ । वनभोज खाएको दिन रातभर जाग्राम बस्ने, सेलरोटी पकाउने र साथीसङ्गीबिच रमाइलो गर्ने परम्परा रहेको आचार्यले बताउनुभयो । भैलो अन्तर्गत आइतबार अर्थात् ‘चेला तिहार’ मनाइन्छ । 

चेला तिहारका दिन आमाले छोरालाई टीका लगाइदिने र छोराले आमाबाट आशीर्वाद लिने चलन छ । भैलो खेल्ने क्रममा बाटोमा नयाँ व्यक्ति भेटिएमा छोपेर भैलो माग्ने परम्परा पनि छ । पहिले भैलो छोपिएका व्यक्तिलाई रातको समयमा बोलाएर खुवाउने चलन रहे पनि अहिले त्यो प्रथा हराइसकेको छ । भैलोको समयमा फाटेको लुगा सियोले नसिलाउने, हात तथा खुट्टामा केही बिझेमा सियोको प्रयोग नगर्ने, कोदालोले जमिन नखन्ने विश्वास पनि रहेको छ । 

यस अवधिमा जमिन खनेमा खेतका भिट्टा जाने किंवदन्ती रहेको स्थानीय बताउँछन् । साथै भैलोको समयमा छोरीबहिनी माइती आउने चलन थियो तर पछिल्लो समय यो परम्परा पनि हराउँदै गएको छ । जुम्लाको सांस्कृतिक परम्परा विशिष्ट र मौलिक भए पनि संरक्षणको अभावमा भैलो जस्ता लोकसंस्कृति क्रमशः लोपोन्मुख अवस्थामा पुगेका छन् ।