भात खाएर बुइँगलबाट ओर्लंदा–ओर्लंदै तल दैलोमा कलवेल दबाएको उसले सुन्यो । मुखै नपुछी हत्तनपत्त ऊ झ्यालबाट नियाल्न पुग्यो । नभन्दै त्यहाँ वारिस भन्ने नजिकैको टोलको टोले झ्यालमा आउनेलाई पर्खंदै मुन्टो माथि उचालेर उभिइरहेको थियो । यो उसको वास्तविक नाम होइन, उपनाम हो । कसै–कसैको उपनामले नामलाई नै निल्छ । ऊ उपनामले चिनिँदै जान्छ र उसको नाम चाहिँ कतै हराउँछ । ऊ टोलवरिपरिका टोले छिमेकीहरूको मालपोत, नापी, अड्डा–अदालतका सानातिना भैपरी आउने कामहरू सघाइदिने गथ्र्यो । उसको वास्तविक हैसियत पनि त्यति मात्रै थियो । उसले खास पढेको पनि थिएन, सावाँ अक्षरसम्म बल्ल छिचोलेको थियो । अड्डा–अदालततिरका काम–कारबाही आफैँलाई परिआउँदा भोगेको हो । आफ्नै कामले पस्दापस्दै संयोगले सँगै परेका टोलेहरूलाई आफूले जानेबुझेअनुसार सघाउँदा सहयोगै पुग्यो होला सायद । पछि त उसैलाई टोलेहरूले आफ्ना अड्डा–अदालतसम्बन्धी सानातिना काम दिन ल्याउन थाले । घरको वंशाणुगत काम खेतीपाती शारीरिक रूपमा अलि गाह्रो थियो र त्यति नगदी पनि थिएन । शनैःशनैः ऊ यतैतिर ढल्किँदै गयो । अन्ततः उसको आफनो नाम कामैले किचिएर म¥यो र ऊ वारिस भयो । वारिस अलि भिन्न खालको नाम थियो । रहँदा–बस्दा वारिस भनेपछि उसलाई नचिन्ने अक्सर कोही पनि भएनन् ।
‘ए ऽ वारिस पो हुनुहुँदो रहेछ, आउनुस् माथि !’ उसले वारिसलाई माथि नै डाक्यो । यतिबेला यस्तो भन्नु वारिसप्रति उसको औपचारिक दायित्व पनि हो । कहिलेकाहीँ औपचारिकताले पनि मानिसको मान–प्रतिष्ठा ह्वात्तै चुल्याइदिन्छ ।
‘अहिले होइन जेठा दाइ, भात पनि खाएको छैन । माथि आएर बसेँ भने काम पनि बित्छ । फुपाकहाँ पसेको थिएँ । उहाँको तपाईंसित काम रहेछ । फोन पनि गरेको उहाँले तपाईंलाई । कही अल्लमल्लमा परेर उठाउन पाउनु भएन कि भनेर खबर गर्न बाटो परेर पसेको मात्र हुँ ।’
यति भनेर ऊ आफ्नो बाटो लाग्यो ।
अघिपछिझैँ बिहान भेट पनि भएको हो फुपासित । त्यसबेला त्यस्तो खास कुनै कुरा उठेको थिएन । अहिल्यै फेरि त्यस्तो के तात्तातो प¥यो होला ? मनमा कुरा खेलाउँदै जेठाले लुगाफाटा फे¥यो, जुत्ता लगायो र भ¥याङ ओर्लंदै माथि भान्साका जहानलाई बाहिर जाँदैछुु भनेर आवाज दियो ।
ऊ फुपाकहाँ पुग्दा फुपा उसैलाई कुरेर बसेको रहेछ । पुग्नासाथै फुपाले भनिहाल्यो, ‘बिहान यताउताका कुरा भए तर मूल कुरा छुटिहाल्यो । काम विशेषले यही हप्तामा बैङ्ककतिर उड्दै छु । त्यसका लागि केही रकम नपुग हुने देखियो । अघिपछिझैँ यसपालि पनि त्यसका लागि तिमीलाई नै सम्झेँ मैले, कसो ?’
जेठा र फुपाबीच डोरीझैँ बाटिएको सम्बन्ध छ । दुःखसुखमा सधैँजसो एकले अर्कोलाई सहयोग गर्छन् । फुपाका छोराछोरी बुहारी सबैजसो आ–आफ्ना काममा व्यस्त भएकाले खेतीपाती, घरायसी आदि काममा जेठाले सघाइरहनु पर्छ । फुपाकी स्वास्नी टोले चेलीबेटी नै हो । जन्मले सानी भए पनि कर्मले चेलीकी दौँतरीहरूले उसलाई फुपू भन्नुपर्छ । त्यसैले फुपा टोलेहरूका पनि फुपा नै थियो । जेठा पनि उसलाई फुपा भनेर नै सम्बोधन गथ्र्यो ।
जेठासित हातैमा आठ–दस लाख रुपियाँ कहिल्यै खाली हुँदैनथ्यो । ऊ घरजग्गा, ढिटो–जमानीतिर पैसा लगानी गरिरहन्थ्यो । कसैलाई परेको आपत्विपत्मा गर्जो पनि टारिदिन्थ्यो । फुपा पनि त्यस्तै खालको व्यावसायिक मान्छे नै थियो । ऊ पनि यताउता चारैतिर रकम कलम खेलाइरहन्थ्यो । कहिलेकाहीँ आफूसितको रकम अपुग भयो भने जेठासित ऐँचोपैँचो गर्न पुग्थ्यो । फर्काउँदा अलिअलि रकम थपथाप गरेर फर्काउँथ्यो । बैङ्कमा ब्याज खाइरहेको पैसा दिए पनि जेठा ऊसित चाहिँ ब्याजको आस गर्दैनथ्यो । बैङ्कको ब्याजको हिसाबले व्यवहारमा कहिल्यै ताली बज्दैन । ताली बजेन भने घरगृहस्थी चलाउन थकथक पर्छ । यो उसको खाँटी अनुभव हो ।
‘भइहाल्छ नि फुपा ! घरकाले त नपुग्ला, सहकारी अथवा बैङ्कमै पुग्नुपर्ला ।’ जेठाले यसै भन्यो ।
‘त्यसै हो भने लागौँ न त ! मसित त भरेभोलि भन्ने समय नै छैन । धेरै कुरा मिलाउन पनि बाँकी छन् ।’
हप्तादिनपछिको कुरा हो । जेठा परिवारसित साँझको भात खान्दै थियो । एक जना छोराले ऊसित एक्कासि सोध्यो, ‘फुपा कता गएका छन्, तपाईंलाई थाहा छ ?’
‘केही समयका लागि बैङ्ककसम्म जाने भन्नुहुन्थ्यो । त्यस्तो के भयो र ?’ जेठाले प्रश्न गर्ने छोरातिर फर्केर प्रतिप्रश्न ग-यो, ‘तिमीहरू टोलको चियापसलतिर पसिरहन्छौ । त्यतातिर केही कुरा सुन्यौ कि ?’
‘त्यही त । जान त बैङ्ैककतिरै गएका हुन् रे ! तर व्यापार–व्यवसायका लागि होइन, किड्नीको उपचारका लागि रे ! तपाईंलाई त्यसबारे केही भनेनन् ?’ छोराले बाहिर बुझेको कुरा आफ्नो बाबुलाई सुनायो ।
‘हँ ऽ !’ ऊ छोराको खुलासा सुनेर झस्कियो । मानौँ किड्नीको रोगले फुपालाई होइन आफैँलाई नराम्ररी गाँजेको होस् । अथवा किड्नीको रोगले गाँजेर आफैँलाई जिन्दगीको अन्तिम घडीमा पु-याएको होस् । उसलाई थाहा छ, यो रोगबाट जोगिएर फर्कन धेरै कठिन छ । उपचार पनि फेरि त्यस्तै महँगो हुन्छ । गरिब दीनदुःखी त नाम सुन्दै त्यतिकै ढल्छन् ।
अघिपछि ओछ्यानमा पल्टिनासाथ घुर्न थाल्ने मान्छेले आज आँखा जर्बजस्ती बन्द गर्दा पनि निद्रालाई थुन्न सकेन । दुई–तीन पल्ट ट्वाइलेट पनि पस्यो ।
त्यस्तो रोगले अँठ्याएछ र पो मलाई सुइँकोसम्म दिनुभएन । त्यस्तो भयानक रोगको उपचारका लागि भनेर पैसा माग्यो भने नदेला भनेर अन्तिम समयमा नाटक मञ्चन गरेझैँ गरेर पैसा थुतेर लग्नुभएको रहेछ दस लाख । पैसा थुतेर लगेको आशङ्काले नै छोराहरूले फुपाको किड्नीको प्रसङ्ग कोट्याएका रहेछन् । नभए अरूबेलाको लेनदेनमा चुँइक्क बोलेका थिएनन् । पैसा दिएको भए पनि एक दुई जनालाई थाहा दिएको भए केही बिग्रिने थिएन । मुसोसम्मलाई थाहा दिएको थिइनँ । अब भने डुब्ने नै भएँ । फुपाको जहानलाई यसपालिको सापटीबारेमा जानकारी गराउँदा थाहा छैन भन्न बेर छैन । फेरि थाहा नभएको पनि हो ।
ओल्टेकोल्टे गर्दागर्दै रात यही तर्कनामा बित्यो ।
ऊ अनिँदो उठ्यो । उठ्नासाथ एक मनले फुपाको घर जाने विचार ग-यो उसले । फेरि अर्को मनले विचार ग¥यो, एकाबिहानै कुन मुखले ढोका ढकढक्याउन जाने ? फेरि उल्टो पर्ला । कि साँझतिर पस्ने ? त्यसबेलासम्म त ढिलो भइसक्ला कि ? जेठाको मनभरि कुरा खेलेको खेलै भयो । दबाउन पनि कति गाह्रो रहेछ । मनलाई यतिकै थुन्नु भनेको सर्प भएको कोठामा मान्छेलाई एक्लै थुन्नुजस्तै रहेछ । सर्पले टोकेपछि विष फैलिएर एकैछिनमा मान्छे कालोनीलो भएर मर्छ । आफ्नो पनि त्यही हबिगत हुन के बेर !
ऊ बिहानै लगभग सातै बजे फुपाको चोतामा पुग्यो । त्यहाँ कोही थिएनन् । सके माथि बुइँगलतिर भात–भान्सामा फुपू अल्मलिइरहेकी होली । चोतामा पसेका छोराबुहारीहरूले जेठा काका आएको खबर माथि फुपूलाई पु¥याइदिए । फुपू हातमा बाफ उड्दै गरेको चिया लिएर ओर्ली ।
‘ओहो जेठा, एकाबिहानै एक्कासि आयौ त !’ जेठाको आगमन फुपूलाई एकदम आकस्मिकजस्तो लाग्यो ।
‘हैन हैन फुपू ! कुनै त्यस्तो विशेष काम थिएन । फुक्का नै थिएँ । यसो एकचोटि फुपूकहाँ कामै नभए पनि उक्लुँ भनेर मात्र । अनि फुपाको पनि खबर बुझौँ भनेर ।’ उसले निकै अन्कनाउँदै बल्ल यति कुरा बोल्न सक्यो । मानौँ ऊ कुनै अति गोप्य कुरा फुपूबाट लुकाउन खोजिरहेको होस् । कुनै गोप्य कुरा भए पनि नभए पनि फुपूलाई भने धानको गेडाभित्र चामल भएको आभास भयो नै ।
‘फुपाको त्यस्तो बुझ्नुपर्ने के कुरा थियो र जेठा ! काममा गएका हुन्, काम सकेपछि फर्की हाल्नुहुन्छ नै ।’ फुपूको जवाफ अरूबेलाजस्तो स्वाभाविक लागेन उसलाई । ती शब्दहरूले उसलाई घोचेझैँ भयो । त्यो घोचाइले उसलाई दुखायो पनि, लज्जित पनि पा¥यो । त्यसैले उसलाई त्यहाँ बसिरहन गाह्रो भयो । रातो मुख पार्दै उसले मुख फो¥यो, ‘त्यही कामका लागि फुपाले मसित दस लाख रुपियाँ लग्नुभएको थियो । फुपूलाई यो कुरा थाहा भयो कि भएन, उहाँले तपाईंलाई जानकारी गराउनुभएको छ कि छैन भनेर... ।’ जेठाले अपराध कबुल गरिरहेको अपराधीले झैँ लेघ्रो तानी–तानी बोल्यो ।
‘तिमीहरूको लेनदेनबारे अरूबेला बताउनुहुन्थ्यो र अहिलेको बताउनु ? तर अहिले तिमीले बताउँदा उहाँले बताएसरह भयो । उहाँ उपचारमा जानुभएको हो, मर्न जानुभएको होइन । ढुक्क हुनु, तिम्रो पैसा कदापि डुब्दैन ।’ अहिले फुपूले साँच्चिकै रिसको आगो निल्दै बोलिरहेको अनुभव ग¥यो उसले । उसलाई निकै पोल्यो त्यो आगोले । ऊ बलजफ्ती त्यो भुँवरीबाट निस्कन चाहिरहेको थियो । खाँदै गरेको चिया आधा पनि सकिएको थिएन, त्यो त्यतिकै छोडेर जेठा चोताबाट अपराधी भागेझैँ लुसुक्क निस्क्यो ।
अघिपछिझैँ एक दिन जेठालाई फुपाको घरबाट बोलावट आयो । फुपा फर्किसकेको थियो । साबिककै मनस्थिति लिएर ऊ फुपाको चोतामा उपस्थित हुन पग्यो । फुपा चिया खाइरहेको थियो । फुपूले उसलाई पनि चिया ल्याइदिई । उसले पनि फुपासँगै सुरुप्प–सुरुप्प चिया पिउन थाल्यो ।
दुईको बीचमा खास केही कुरा भइरहेको थिएन । यस्तैमा हजार–हजारका दस मुठा नोटका बिटाहरू सेफबाट निकालेर जेठासामु राखिदिँदै एक पाना कागज पनि तेर्सायो फुपाले । त्यहाँ के हुन गइरहेको छ अहिले ? एक छिन त जेठालाई ठम्याउन गाह्रो भयो । ऊ अन्यमनस्क भएर टोलाइरह्यो । फेरि फुपाले आफूले लगाइरहेको इस्टकोटको खल्तीबाट हजार र पाँच सयका केही रुपियाँ थप्दै भन्यो, ‘लौ यो सावाँ भयो, योचाहिँ ब्याज । यो कागजमा चाहिँ सही गर्नु, आफ्नो पैसा लैजानु !’ फुपाले भन्यो ।
‘दिँदा पनि मैले फुपालाई सही गराएको छैन, अब बुझ्दा पनि गर्दिनँ । कागज गरेर पैसा लग्नु प¥यो भने बरु रित्तै फर्कन्छु ।’ त्यसपछि उसलाई फुपाको चोतामा बसिरहन निकै गाह्रो भयो । ऊ जुरुक्क उठेर ओर्लनलाई भ¥याङको सिरानसम्म आइपुगेको थियो, फुपूचाहिँले बाटो छेकेर भनी, ‘आज भएको बेलामा सानो कुरामा अड्केर रित्तै फर्कन्छौ, भोलिभरे फेरि हर्जा भयो भनेर फर्केको बेला तिम्रो फुपा रित्तो पनि भएको बेला पर्न सक्छ । त्यो बेला दुवैको मुख रोत्तो होला । परिआएको व्यवहारमा सही धस्काएर हात आएको लक्ष्मी लानु नै जाती हुन्छ ।’
कागजको पानामाथि कलम तेर्सिरहेकै थियो । जेठालाई यति खेर के लाग्यो कुन्नि, फनक्क फर्केर कागजमा सही ग¥यो र छरपस्ट रुपियाँ पोको पारेर हावासरी फुपाको घरबाट फुत्त निस्क्यो ।
त्यस उपरान्त फर्केर जेठा फुपाको घरमा कहिल्यै पसेन । न त कहिल्यै जेठा भनेर फुपा नै उसकोमा पस्यो । यसरी नै दुई वर्षजति व्यतीत भयो । यस्तैमा एक दिन अड्डाको म्याद बोकेर एक जना तामेलदार जेठाको दैलोको कलवेल थिच्न आइपुग्यो । घरमा जेठाकी बूढीबाहेका कोही थिएनन् ।
जेठालाई प्रतिवादी बनाएर फुपाले अड्डामा लेनदेनको फिराद दर्ता गरेको रहेछ । आइमाईलाई एक्कासि म्याद बुझ्नलाई भन्न पनि तामेलदारलाई असजिलो भयो क्यारे ! ऊ त्यो दिन त्यतिकै फक्र्यो । त्यसको केही दिनपछि सोमबारको गोरखापत्रमा बाटाको म्यादबाहेक ३५ दिनभित्र हाजिर हुन अदालतको म्याद प्रकाशित भयो । जेठाको अगाडि अर्को कुनै चारो थिएन । यथासमय ऊ अदालतमा हाजिर हुन गयो ।
त्यहाँ उसको उही पुरानो परिचित वारिससित जम्काभेट भयो । वारिसलाई भेट्दा उसलाई ढुङ्गा खोज्दा देउता भेटेझैँ भयो । ऊ वारिससित आफ्नो दुखेसो पोखेर पार पाउने आसाले मुख फोर्न खोज्दै थियो । तर उसले आँ गर्न नपाउँदै वारिसले भन्यो, ‘जेठादाइ, लेनदेनले नस–नाता पनि तोड्छ, मित्रता पनि मार्दो रहेछ । मान्छेलाई कल्पानातित परिस्थितिमा धकेल्दो रहेछ । तपाईंहरू दुवैलाई मिलाउने ठूलो धोको थियो मेरो । उहाँले मुद्दा नै मैलाई जिम्मा लगाउनुभयो । मुद्दा नै किन्नुप-यो मैले । तर म वादी तपाईं प्रतिवादी होइन । हामी दुवै दाजुभाइ हौँ । तपाईंसित म ब्याजस्याज अरू थोक केही माग्दिनँ । तपाईं मूल बिगो मात्र भर्नुस् ! सम्झनुस् हाम्रो मिलापत्र भयो... जेठा दाइ !
ऊ किंकर्तव्यविमूढ भएर वारिसको मुख मात्र हेरिरह्यो ।