काठमाडौँ, चैत २० गते । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारको नीति तथा कार्यक्रम र बजेट ‘ट्र्याक’ बदल्ने गरी आउने जानकारी दिनुभएको छ । राज्यको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका व्यवस्थापन तथा सम्पादकीय नेतृत्वसँगको छलफलका क्रममा आइतबार उहाँले उक्त जानकारी दिनुभएको हो ।
उहाँले व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नहुँदा र राज्यका सेवा प्रवाहमा नयाँपन आउन नसक्नु अहिलेको मुख्य समस्या रहेको बताउँदै त्यसमा परिवर्तन गर्ने गरी सबै तहबाट काम हुनुपर्ने स्पष्ट पार्नुभयो ।
सरकारको नेतृत्वप्रति जनताको आशा र विश्वास बढेको बताउँदै उहाँले विगतका सबै आन्दोलनका उपलब्धिको रक्षाका लागि सरकारका कदममा सबैको समर्थन रहेको छ भन्नुभयो । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता अधिकार संविधानले नै प्रत्याभूत गरेको तर सर्वसाधारणले ती नपाएको सन्दर्भमा सरकार गम्भीर रहेको उहाँको भनाइ थियो ।
अहिलेको परिवर्तन कुनै एक दल वा पक्षको भन्दा पनि धेरै पक्षको सम्झौताबाट आएकाले कुनै एक दल वा पक्षले चाहेजस्तो काम गर्न कठिन हुने बताउनुभयो । यी सबै कार्यका लागि र सरकारका कामबारे सकारात्मक सन्देश प्रवाहमा सञ्चारमाध्यमले पनि आफ्नो ट््याक परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै गोरखापत्रले त्यसतर्फ काम गरेको उल्लेख गर्नुभयो । सरकारले को कसबाट नियुक्ति भएका कारण कहाँ छ भन्नेभन्दा पनि काम भएको छ कि छैन भनेर मूल्याङ्कन गर्ने सल्लाहकार गजुरेलले बताउनुभयो ।
प्रधानमन्त्रीको सञ्चार सचिवालयद्वारा आयोजित छलफलमा प्रधानमन्त्रीको सञ्चार समूहका विज्ञहरू तथा गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, रासस र रेडियो नेपालका व्यवस्थापन तथा सम्पादकीय नेतृत्वबीच सार्वजनिक सञ्चार संस्थाका कामकारबाही र भावी कार्यक्रमबारे परामर्श भएको थियो ।