रमेश विश्वकर्मा
गुल्मी, पुस ८ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । यस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकसम्म तीन करोड ५१ लाख ५७ हजार २१८ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पल्लीका अनुसार चालु आवको पहिलो त्रैमासिकसम्म यस नगरपालिकाले विभिन्न सात शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कूल तीन हजार ७३१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको रेसुङ्गा नगरपालिका पञ्जिकरण शाखाले जनाएको छ । पञ्जिकरण शाखाका अनुसार अन्य ज्येष्ठ नागरिक भत्ता एक हजार ९६३ जनालाई दुई करोड ३५ लाख ४४ हजार २० रुपियाँ वितरण गरिएको हो ।
ज्येष्ठ नागरिक भत्ता (दलित) २९७ जनालाई २३ लाख २७ हजार ५०० रुपियाँ, ज्येष्ठ नागरिक एकल महिला २४६ जनालाई १९ लाख ५२ हजार ४४० रुपियाँ, विधवा ५७८ जनालाई ४५ लाख ८० हजार ४३७ रुपियाँ, पूर्ण अपाङ्गता भत्ता ८७ जनालाई १० लाख ४१ हजार ३९० रुपियाँ, अति अशक्त अपाङ्गता भत्ता १७५ जनालाई ११ लाख १० हजार ८१६ रुपियाँ र दलित बालबालिका ३८४ जनालाई पाँच लाख ९२ हजार ६३५ रुपियाँ वितरण गरिएको छ ।
यस नगरपालिकामा चालु आवको पहिलो चौमासिक कात्तिक मसान्तसम्म २१० जनाको जन्म दर्ता गरिएको छ । ९३ जनाको मृत्यु दर्ता गरिएको छ । १२ जनाको सम्बन्ध विच्छेद, ११३ जनाको विवाह दर्ता गरिएको छ । यस नगरपालिकामा २२ परिवार बसाइसराई गरी आएका र २४ परिवारले बसाइसराइ गर्नुभएको छ । यस अवधिमा ज्येष्ठ नागरिक परिचयपत्र १२ र अपाङ्गता परिचयपत्र १४ जनालाई वितरण गरिएको छ ।