सिराज खान
नेपालगन्ज, चैत २४ गते । बाँकेमा कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार अघिल्ला वर्षहरूको तुलनामा हाल कुपोषित बालबालिकाको पहिचान हुने क्रम बढेको हो ।
स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लाभर ४४२ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको थियो । कार्यालयकी पोषण फोकल पर्सन (सम्पर्क व्यक्ति) बसन्ती मल्लका अनुसार आव २०८१/८२ मा सो सङ्ख्या बढेर ५५८ पुगेको थियो ।
चालु आवको आठ महिनामा मात्रै ३२८ बालबालिकामा कडा खालको कुपोषण फेला परिसकेको छ । तेस्रो चौमासिकको ‘स्क्रिनिङ’ (परीक्षण) पछि यो सङ्ख्या गत वर्षको तुलनामा अझ बढ्ने अनुमान गरिएको मल्लले बताउनुभयो ।
पाँच स्थानीय तहको अवस्था
चालु आवमा बाँकेका पाँच वटा स्थानीय तहमा गरिएको परीक्षणबाट २३३ जना बालबालिकामा कडा कुपोषण फेला परेको छ । २१ हजार ५४९ जना बालबालिकामा गरिएको परीक्षणबाट प्राप्त विवरण निम्नानुसार छ :
डुडुवा गाउँपालिका : ९० जना
बैजनाथ गाउँपालिका : ४४ जना
जानकी गाउँपालिका : ३६ जना
खजुरा गाउँपालिका : ३२ जना
राप्तीसोनारी गाउँपालिका : ३१ जना
बाँकी तीन वटा स्थानीय तहमा आगामी वैशाखदेखि परीक्षण सुरु हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कडा कुपोषणका अतिरिक्त परीक्षण गरिएका पाँच पालिकामा १ हजार १०५ जना र नरैनापुरको एक वडामा ५२ गरी कुल १ हजार १५७ जना बालबालिकामा मध्यम कुपोषण फेला परेको छ ।
समुदायमा भेटिएका कुपोषित बालबालिकालाई ‘ओटिसी’ (बहिरङ्ग उपचार केन्द्र) मार्फत पोषण र स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । फोकल पर्सन मल्लका अनुसार कुपोषणलाई निर्मूल गर्न किशोरी अवस्थादेखि नै पोषणको ख्याल गर्नुपर्ने र बच्चा जन्मिएपछि आवश्यक स्तनपान तथा पूरक आहारको सुनिश्चितता गर्न आवश्यक छ ।