• २४ चैत २०८२, मङ्गलबार

बाजुरा : खोलामा पुल बने पनि आवतजावतमा समस्या उस्तै

blog

निर्माण कार्य सम्पन्न भए पनि पहुँच मार्ग नबन्दा प्रयोगविहीन रहेको बाजुगाड पुल । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, चैत २४ गते । बाजुराको बाजुगाड खोलामा नयाँ पक्की पुल निर्माण भए पनि स्थानीयवासीको आवतजावतको समस्या भने समाधान हुन सकेको छैन । बुढीगङ्गा नगरपालिका–४ र खप्तड छेडेदह गाउँपालिका–३ को बिचमा पर्ने बाजुगाड खोलामा पुल बने पनि दुवैतर्फको 'साइट' (एप्रोच सडक र दायाँबायाँको संरचना) निर्माण नहुँदा पुल प्रयोगविहीन बनेको हो ।

विसं २०७२ मा अछामको साउँद एड्भेन्चर जेभीले दुई करोड रुपियाँको लागतमा ४५ मिटर लामो सो पुल निर्माणको जिम्मा लिएको थियो । सम्झौता अनुसार उक्त पुल २०७६ असारसम्ममा सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण २०८२ पुसमा मात्र पुलको मुख्य संरचना निर्माण कार्य सकिएको छ ।

पुलको काम सकिए पनि दुवैतर्फका पहुँच मार्ग र संरक्षणका कार्य अझै बाँकी रहेकाले स्थानीयवासीले अहिले पनि पहिलेकै जस्तो खोला तर्नुपर्ने बाध्यता रहेको छ । बुढीगङ्गा–४, बानेगाउँकी गोमती कटुवाल भन्नुहुन्छ, “गाउँमा धेरै योजना आउँछन्, ठेकेदारले केही काम गरे जस्तो गर्छन् र हराउँछन् । जसका कारण हामीले सधैँ सास्ती खेप्नुपरेको छ ।”

यता, साउँद एड्भेन्चर जेभीका प्रोप्राइटर ईश्वर साउँदले आफूले जिम्मा लिएको ४५ मिटर पुलको काम सम्पन्न गरिसकेकाले अब आफ्नो जिम्मेवारी नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “प्राविधिक गडबडीका कारण केही समय ढिला भए पनि मैले पुलको काम पूरा गरेर सम्बन्धित निकायलाई बुझाइसकेको छु, बाँकी साइडको काम मेरो जिम्मेवारीमा पर्दैन ।”

पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामका कार्यालय प्रमुख जङ्ग थापाले पुलको मुख्य काम सकिए पनि दुवैतर्फका साइड निर्माण बाँकी रहेको स्वीकार गर्नुभयो । “गत वर्ष एकातर्फको साइड निर्माण गरिएको थियो, अहिले अर्कोतर्फको काम गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “साइड निर्माणका लागि अर्को ठेकेदार कम्पनीसँग सम्झौता भइसकेकाले केही समयपछि पुल पूर्णरूपमा सञ्चालनमा आउने छ ।”