• १३ असोज २०८१, आइतबार

रैथाने खाद्य परिकारको उपभोग बढाउनुपर्ने

blog

रैथाने खाद्य परिकारसम्बन्धी अनुशिक्षणका सहभागी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङमा कोदो, फापरजस्ता रैथाने बालीको उत्पादनबाट तयार हुने परिकारको उपभोग बढाउनुपर्नेमा जोड दिइएको छ । बढ्दो बजारिया खाना जङ्क फुड तथा मैदायुक्त खानेकुराको प्रयोग र उपभोगको सट्टा रैथाने खाद्य परिकारको उपभोग बढाउनुपर्नेमा जोड दिइएको हो । 

जिल्लास्थित कृषि ज्ञान केन्द्रले आयोजना गरेको रैथाने बालीको परिकार विविधीकरणसम्बन्धी अनुशिक्षणमा दीर्घ आयु र स्वास्थ्यकर रहनका लागि रैथाने खाद्यबालीको प्रयोग साथै उपभोग बढाउनुपर्नेमा जोड गरिएको छ ।

रैथाने बाली परिकारको उपभोगमा प्रोत्साहित गर्न तथा स्थानीय उत्पादनको प्रयोग बढाउन स्थानीयलाई अनुशिक्षण प्रदान गरिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाले जानकारी दिनुभयो । 

हाल आयोजना हुने उत्सव र महोत्सवमा अनिवार्यजस्तै बनेको केकदेखि खाजा र खानाका परिकार रैथाने बालीबाट नै बनाउन र परम्परागत कृषि उत्पादनको प्रयोग साथै साना उद्यम सिर्जनामा सघाउ पुर्‍याउने उद्देश्यलेसमेत अनुशिक्षण गराइएको थापाको भनाइ छ ।

स्वास्थ्यकर र आफ्नै बारीमा उत्पादन भएका परम्परागत कृषि बालीको प्रयोगबाट आफूलाई चाहिने सबै उपभोग्य वस्तुका परिकार बन्ने भएकाले यसको उपभोग बनाउन आवश्यक रहेको अनुशिक्षणको सहजीकरण गर्दै सहजकर्ता किरण कोइरालाले भन्नुभयो ।

कोइरालाले अनुशिक्षणबाट प्राप्त सीपलाई उपयोग गरेर साना उद्यम सिर्जना गर्न सकिने पनि बताउनुभयो । आफैँले उत्पादन गर्ने परम्परागत अन्नबालीलाई प्रयोग गरेर आधुनिक समयमा प्रयोग हुने केक, खाना र खाजाका परिकार बनाउन सकिने कोइरालाको भनाइ छ । लागतमा पनि न्यून खर्च हुने र स्वास्थ्यलाई बढीभन्दा बढी लाभ हुने रैथाने परिकारको प्रयोग अनिवार्य भएको उहाँले बताउनुभयो ।

अनुशिक्षण मा परम्परागत कृषि उत्पादनको उपयोग गरेर मिठे तथा तिते फापरको केक, कोदोको पिठोको केक, चिउराको पुलाउ र चटपटे, कोदो र फापरको पिठोको प्रयोगबाट बनाइने मःम, फापर र इस्कुसबाट बनाइने रोटी, अदुवाको जाम, केन्डी, सिरफ, फर्सीको बोक्रा र आलु मिसाएर बनाइने अचार, फर्सीको सुपजस्ता उपभोग्य परिकार बनाउन सिकाइएको छ ।

डेढ दर्जन बढीको सहभागितामा अनुशिक्षण आयोजना गरिएको कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत विनय महर्जनले जानकारी दिनुभयो ।