• १३ साउन २०८१, आइतबार

सर्जकका उत्थानमा तल्लीन छ: नेपाली लेखक सङ्घ

blog

नेपाली लेखक संघ, सिन्धुपाल्चोककाे कार्यक्रम ।

चित्र मिजार

सिन्धुपाल्चोक, चैत १८ गते । नेपाली लेखक सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष नवीनबहादुर श्रेष्ठले सिन्धुका सर्जक, स्रष्टा, लेखकलगायतका साहित्य क्षेत्रको उत्थानमा सङ्घ लागिरहेको बताउनुभएको छ । सिन्धुका साहित्य क्षेत्रको इतिहास, गरिमा, साखलाई जोगाउँदै साहित्य क्षेत्रका सर्जकको क्षमता वृद्धिमा सङ्घले कुनै काम पनि गर्न कसुर बाँकी नराख्ने श्रेष्ठले जोड दिनुभयो ।

नेपाली लेखक सङ्घ सिन्धुपाल्चोकले शनिबार आयोजना गरेको साहित्यिक अन्तर्क्रिया तथा सर्जक सम्मान कार्यक्रममा अध्यक्ष श्रेष्ठले सिन्धुमा विद्यालय स्तरदेखि नै साहित्य क्षेत्रमा प्रोत्साहनका कार्य गर्ने बताउनुभएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली लेखक सङ्घ केन्द्रीय समितिका सह–अध्यक्ष डा. रत्नमणि नेपालले सङ्घ सिन्धुपाल्चोकका सम्पूर्ण लेखक, सर्जक, स्रष्टाको क्षमता वृद्धि र उत्थानमा लाग्न आग्रह गर्नुभयो । मोफसलका साहित्यलाई केन्द्रसँग जोड्न र प्रतिस्पर्धी बनाउन पनि उहाँले सङ्घलाई अनुरोध गर्नुभएको छ ।

उक्त सङ्घका पूर्व जिल्ला अध्यक्ष सन्तोष बोहराले सिन्धु साहित्य र लेखन क्षेत्रमा संलग्न साहित्यकारलाई सङ्घले सधैँ हौसला र प्रोत्साहनका काम गर्दे आएको स्मरण गर्नुभयो ।

स्रष्टालाई एकैथलोमा जमघट गरेर साहित्य र लेखनबाटै सिन्धुमा सकारात्मक परिवर्तन आएको पूर्व अध्यक्ष बोहराले दाबी गर्नुभयो । नेपाली लेखक सङ्घ सिन्धुको ऐनाको रूपमा काम गरिरहेको उहाँले बताउनुभएको छ ।

उक्त कार्यक्रममा सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–१४ स्थायी घर भएर नेपाल चलचित्र कलाकार सङ्घको केन्द्रीय समितिमा उपाध्यक्ष चुनिएका शिवहरि नेपाल (वैरागी)लाई सम्मान गरिएको थियो ।

युवा उद्यमी तथा साहित्यप्रेमी विश्वास श्रेष्ठले सिन्धु साहित्य क्षेत्रमा आफूले सक्दो सहयोग र योगदान गर्ने प्रतिबद्धता गर्नुभयो ।

सो  कार्यक्रममा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, नवीन पतझर, मनोज न्यौपानेलगायतका स्रष्टाले साहित्य उत्थानका अभिमत र रचना प्रस्तुत गर्नुभएको थियो ।