• ५ जेठ २०८१, शनिबार

खोजीको प्रतिफल– आविर्भाव आख्यान

blog

गहिरो अध्ययन, कठिन सङ्कलन र सूक्ष्म अनुसन्धानको प्रतिफलका रूपमा ‘आविर्भाव आख्यान’ जनसामु आएको छ । कान्यकुब्जबाट जुम्ला हुँदै फैलिएका खस आर्यहरू (कौण्डिण्य गोत्री आचार्य आविर्भाव आख्यान एक प्रतीक) उपशीर्षक दिइएको यस कृतिका सङ्कलक, सम्पादक तथा लेखक हुनुहुन्छ– वेदनाथ आचार्य ।

उहाँको यो दोस्रो प्रकाशित कृति हो । यसअघि वि.सं. २०६९ मा धम्मपद (धर्मपद) को पालिबाट नेपाली भाषामा अनुवाद गर्नुभएका वेदनाथका पालिबाटै नेपाली भाषामा अनुवाद गरिएका सुत्तनिपात उरगवर्ग (वसुलसुत्त) तथा सुत्तनिपात महावर्ग (सभयसुत्त) कृति चाहिँ प्रकाशन हुन बाँकी छन् ।  ‘आविर्भाव आख्यान’ कृतिको शीर्षकले नै विषयवस्तुको गाम्भीर्य दर्शाएको छ । शीर्षकको औचित्य प्रष्ट्याउँदै भूमिकामा लेखकको भनाइ छ– ‘आविर्भावको अर्थ हो उत्पत्ति र आख्यानको अर्थ हो वर्णन या विवरण । कसको आविर्भावको आख्यान त ? यस पुस्तकमा हाम्रो आविर्भावको आख्यान वर्णन प्रस्तुत छ । यहाँ हाम्रो को अर्थ सङ्कुचित मेरो मात्र नभएर अलि फराकिलो हामी सबैको रहेको छ, जस्तै हाम्रो जातजाति, हाम्रो कुलवंश, हाम्रो इतिहास, हाम्रा देशवासीको इतिहास, हाम्रो संस्कृति, हाम्रो भूगोल तथा हाम्रो रहनसहन, हाम्रा मिथक मान्यताहरू आदि ।’ 

लेखकले अभिव्यक्त गर्नुभएझैँ ‘आविर्भाव आख्यान’ केवल कौण्डिण्य गोत्री आचार्यसँग मात्रै सम्बद्ध छैन । बाहुन, क्षेत्री, ठकुरी, दसनामी, दलितका विषयवस्तु सँगसँगै मगर, नेवार आदिका सन्दर्भ, प्रसङ्ग पनि रहेका छन् । यसका लागि उहाँले शिखरनाथ थरगोत्र प्रवरावली लगायतका कृतिको सहयोग लिनुभएको छ । 

कृतिलाई सर्वोपयोगी बनाउने ध्याउन्न लेखकमा विद्यमान रहेको दृष्टान्त ठाउँ, ठाउँमा भेट्न सकिन्छ । तैपनि मूलतः ‘आविर्भाव आख्यान’ कौण्डिण्य गोत्री आचार्यसँग सम्बद्ध उपहार हो, लेखकले यसलाई केवल टेक्ने आधार वा प्रतीकका रूपमा मात्र लिन पाठकसामु अनुरोध पनि गर्नुभएको छ । अधिकांश आधुनिक साहित्य वा बोलीमा ‘कौडिन्य’ शब्द उल्लेख पाइए पनि यस कृतिमा लेखकले ‘कौण्डिण्य’ प्रयोग गर्नुभएको छ । लेखक वेदनाथले “हामी कौण्डिण्य गोत्री आचार्यका पुर्खा तुर्क जातिको अत्याचारबाट बच्न कान्यकुब्जबाट दसौँ शताब्दीतिर खस साम्राज्यका खस राजाको शरणमा पुगेका थिए” उल्लेख गर्नुभएको छ । अधिकांश बाहुन, क्षेत्रीका वंशावलीमा यस्तै धारणा अभिव्यक्त भएको पाइन्छ तर उहाँ यत्तिमै सीमित रहनुभएन, बुद्धद्वारा उपसम्पाद प्राप्त गरेका ‘प्रथम भिक्षु कौण्डिण्य’ का आधार लिँदै उहाँ लेख्नुहुन्छ ः “पहिले कौण्डिण्य नेपालकै कपिलवस्तुका गृहस्थ बासिन्दा थिए । अतः उनीहरू नै हाम्रा वंश या गोत्रका आदिपुरुष हुन सक्छन् । एउटा कुरा भने सत्य हो कि बुद्धकालभन्दा पहिलेदेखि नै अहिलेका जस्तै गोत्रधारी ब्राह्मण थिए, जसको पुष्टि पालि त्रिपिटकले गरेको छ ।” 

पवित्र उत्तराखण्ड, हिमवत्खण्ड नेपाल उहिल्यैदेखि ऋषि, महर्षिहरूको जन्मभूमि र तपोभूमि भएका विभिन्न आधार हुँदाहुँदै तुर्क शासकका भयले दसौँ शताब्दीमा कान्यकुब्जबाट नेपाल आएको कतिपयको कथन पक्कै विचारणीय छ । हुन सक्छ, केही त्यतिखेर आए, कोही पहिल्यैदेखि यहीँ थिए । यसबारे गहन वैज्ञानिक अनुसन्धानको खाँचो टड्कारिएको छ । 

वैदिक आर्य र खस आर्यजस्ता विषय खुट्याउन पनि सजिलो छैन । पर्यायका रूपमा रहेको खस र मस्टोको पक्ष पनि गम्भीर छ । कुलपूजाको अवस्था र एकरूपताका पक्ष पनि सँगेलिएकै छ । यस्ता तमाम ऐतिहासिक, सांस्कृतिक विषयवस्तुका सम्बन्धमा विभिन्न विद्वान्का दृष्टिकोण प्रस्तुत गर्दै आफ्नो धारणा राख्ने इमानदार प्रयास लेखकले गर्नुभएको छ ।  सबै पहाडे बाहुन, क्षेत्री, ठकुरी, सन्न्यासी, कामी, दमाई, सार्की, गाइने र सम्भवतः वादीसमेत खस वर्गका मानिसको आविर्भावका लागि खस साम्राज्यको ठूलो देन रहेको जनाइ लेखकले खस साम्राज्यको उत्थान र विघटन, बाइसी, चौबिसी राज्यको विश्लेषणयुक्त सन्दर्भ समेट्दै मस्टो र खससम्बन्धी खोजमूलक सामग्री प्रस्तुत गर्नुभएको छ । कुनै पनि विषयवस्तुको कोरा बयान वा केवल टिपोट मात्र नहुनुलाई यस कृतिको विशेषता मान्नुपर्छ । 

कौण्डिण्य गोत्री आचार्यको परिचय दिने क्रममा पनि पौराणिक, ऐतिहासिक, जनश्रुति आदिलाई तर्कपूर्ण ढङ्गले केलाइएको छ । विगतमा प्रकाशित कौण्डिण्य गोत्री आचार्यका विभिन्न वंशावलीलाई कर्मकाण्डी रूपमा मात्र प्रस्तुत नगरी तिनका उम्दा तथा कमजोरी दुवै पाटा उघार्न लेखकले प्रशंसनीय प्रयत्न गर्नुभएको छ । दक्षिण भारतका विद्वान् गङ्गाधर शास्त्रीद्वारा संस्कृत भाषामा लेखिएको आचार्य वंशावलीप्रति आश्चर्य एवं जिज्ञासासमेत राखिएको छ । उक्त वंशावली शेषराज (रेग्मी ?) गुरुले कसबाट कसरी प्राप्त गर्नुभयो र स्वयं गङ्गाधरले कसबाट जानकारी लिई वंशावली तयार गर्नुभयो ? जस्ता विषय अज्ञात नै रहेको यथार्थ पनि दर्शाइएको छ । आजभन्दा सय वर्षअगावै यसरी आचार्य वंशावली तयार हुनु आफैँमा स्तुत्य कार्य हो । यस वंशावलीमा विशेषतः मुडिखु, काठमाडौँका कौण्डिण्य गोत्री आचार्यको वंशावली छ । यस वंशावलीका १०६ तथा १०७औँ श्लोक यतिखेर स्मरणीय बनेको छ ।

कृष्णदत्तो मुकुन्दोऽथ श्रीनारायणदत्तकः ।

कृष्णदत्तस्य पुत्रौ द्वौ रामानन्दस्तदादिमः ।।१०६।।

श्रीमेदिनीप्रसादोऽन्त्यो मुकुन्दस्त्वसुतोऽभवत् ।

श्रीनारायणदत्तस्य त्रयः सन्ति सुता बुधाः ।।१०७।।

कान्तिपुरे राजा जयप्रकाश मल्लबाट मुडिखुमा बिर्ता पाई बसेका पण्डित जयनारायणका ६ पुत्र थिए– श्रीहर्ष, ब्रह्मानन्द, गङ्गानन्द, सागरानन्द, गोकुलानन्द र गदाधर । गदाधरतर्फ छोरा रामभद्र भए र रामभद्रका राम र लक्ष्मण छोरा भए । लक्ष्मणका कृष्णदत्त, मुकुन्द, सुदर्शन र नारायणदत्त चारवटा छोरा भए तापनि माथिको श्लोकमा तीनवटा मात्रै उल्लेख छ । कृष्णदत्तका रामानन्द र मेदिनी दुई छोराको नाम भेटिन्छ । यी ‘रामानन्द’ कोइराला परिवारका स्वनामधन्य विश्वेश्वर, हरिहर, केशव, तारिणी, गिरिजा एवं बुनु (विजय) की माता दिव्या कोइरालाका पिता हुन् । रामानन्दका होमनाथ (रामहरि) र नगेन्द्र (रूद्रहरि) दुई छोरा तथा दिव्या, होमकुमारी, कुमुदिनी र स्नेहमयी चार छोरी भए । रामानन्दका भाइ मेदिनीप्रसाद योग, ज्ञान र ओखतीमूलोका सन्दर्भमा कहलिएका व्यक्ति हुन् । स्वर्गद्वारी महाप्रभुका चेला मेदिनीबारे ‘मेदिनीस्मृति’ (२०६३) कृति पनि प्रकाशित छ । 

उपर्युक्त आचार्य वंशावलीमा कृष्णदत्तका भाइ मुकुन्दलाई निस्सन्तान जनाइनु त्रुटिपूर्ण छ । मुकुन्दका सन्ततिले २०५६ सालमा आचार्य (मुकुन्द उपाध्याय खलक) विकास समाज, खोलेगाउँ, नुवाकोट’ स्थापना गरी अथक मिहिनेत साथ २०७३ सालमा ‘मुकुन्द उपाध्याय खलक आचार्य वंशावली’ प्रकाशन गर्नुभएको छ । यसले १९५९ सालमा संस्कृतमा प्रकाशित तथा नेपालीमा अनुवादित वंशावली एवं जगदम्बा प्रकाशन प्रा.लि.बाट २०५६ सालमा पुनः प्रकाशित आचार्य वंशावलीमा रहेका अभावलाई पूर्ति गर्ने सराहनीय काम गरेको छ । मुकुन्दकी क्षेत्रिनीपट्टिबाट नुवाकोटको खोलेगाउँमा जन्मिएका सन्तति उक्त वंशावलीमा छुट्न पुगेका हुन् भने बाहुनीपट्टिबाट समेत एउटा छोरी भएको उल्लेख पनि ‘मुकुन्द उपाध्याय खलक आचार्य वंशावली’ मा पाइन्छ । 

वंशावलीमा कतिपयका नामावली छुट हुनु र त्रुटिपूर्ण हुनु अस्वाभाविक र अनौठो होइन । छुटेका लाई समेट्दै र भएका त्रुटि सच्याउँदै अपूर्णताबाट पूर्णताको यात्रा गर्नु नै वंशावलीको ध्येय हुन्छ भन्दा फरक पर्दैन । 

वंशावली सङ्कलन, लेखन तथा सम्पादन गर्ने काम चानचुने होइन । एउटै गोत्रका अनेकथरीलाई नसमेटी महायात्रा पूरा हुनै नसक्ने यथार्थ एकातिर छ भने अर्कातिर एक थर, अनेक गोत्र भएकालाई त झनै सास्ती हुने नै भयो । आचार्यकै कुरो गरौँ, कौण्डिण्य र गर्ग दुई गोत्रका छन् । ऐतिहासिक कालखण्डमा भेटिए जति सबै आचार्यलाई सत्यतथ्यबिना आ–आ–आफ्नो वंशावलीमा समेट्ने छुट कसैलाई छैन । अझ निश्चित पुस्ता (२०÷२५) माथि अधिकांश बाहुन, क्षेत्रीका थर भट्ट नै भेटिनुले अन्योलको सागर अथाह रहेको छर्लङ्ग हुन्छ । तैपनि खोजीको यात्रा अविराम चल्नैपर्छ । यस दिशामा ‘आविर्भाव आख्यान’ उदाहरणीय बनेको छ । नर्वदेश्वर शिवालय गुठी, धनकुटाबाट प्रकाशित प्रस्तुत कृति सम्बद्ध गोत्री आचार्यका निम्ति मात्र होइन, अन्य पाठक वर्गका लागि समेत पठनीय तथा सङ्ग्रहणीय रहेको छ ।