गाउँ सहर बन्ने प्रतिस्पर्धामा छ । सहरलाई आधुनिक बनाउन अर्बौं अर्बका योजना थपिँदै छन् । व्यवस्थित सहर कसलाई मन पर्दैन र ! तर मानवमा असन्तुष्टि र वितृष्णा भने दिनानुदिन बढ्दै छ । सामाजिक, आर्थिक विकाससँगै आपराधिक गतिविधि पनि बढ्दै छन् । अपराधका घटनामा आधुनिक प्रविधि प्रयोग हुनुले पनि यसो भएको होला ।
गाउँलाई गाउँको पहिचान जोगाउन मुस्किल परेको छ । गाउँमा युगौँदेखि प्रयोग हुँदै आएको परम्परागत ज्ञान, सीप र जीवनशैली मृतावस्थामा छन् । योजनाबद्ध विकासले सहर विकासको शिखरमा छन् । गाउँ पनि आधुनिक विकासले सु–सज्जित हुँदै छन् । गाउँमा महिनौँ लगाएर गर्ने काम सहरमा केही समयमै गर्न सकिन्छ । गाउँ पनि यान्त्रिक विकासको मार्गमा अग्रसर छन् ।
विकसित देशको कुरा गरौँ वा विकासशील देशको; सबै ठाउँ यस्तै गतिविधिले भरिपूर्ण छ तर गाउँको परम्परागत ज्ञान र सीप अब किंवदन्तीमा मात्र सीमित हुँदै छन् । एकातिर प्रविधि र विकासले गाउँ सुसज्जित हुन पुगेका छन् भने अर्कातिर गाउँका परम्परागत ज्ञान, सीप र मूल्यमान्यता क्रमशः लोप भइरहेका छन् । यसको दोष कसलाई दिने ? परम्परागत ज्ञान र सीपको केन्द्र गाउँ हुन् तर ती त्यहाँबाट नष्ट हुँदै छन् । यति मात्र होइन, विकासको नाममा डाँडाहरू दिन प्रतिदिन नाङ्गिँदै छन् । योजनाबद्ध विकास हुनु त राम्रो कुरा हो तर विकासकै नाममा यस्ता गतिविधिलाई राम्रो भन्न सकिँदैन ।
आज सहरमा बस्नेहरू वर्षका केही दिन गाउँमा बिताउन आउँछन् । यसको मुख्य कारण यहाँको हावापानी हो । त्यसैले गाउँको यस्तो स्वच्छ निर्मल हावापानीलाई प्रदूषित बनाउने काम कसैले गर्नु हुँदैन । कलकारखानाले गर्दा वातावरण प्रदूषण बढी हुने गर्दछ । हिजोका दिनमा कलकारखानामा कोइला प्रयोग हुन्थ्यो । आज बिस्तारै कोइला प्रयोग घट्दै गएको छ ।
आज आएर विकसित देशहरूले पेट्रोलियम पदार्थको प्रयोग पनि क्रमशः घटाउँदै लगेर विद्युत्को प्रयोग गरिरहेका छन् । हाम्रो मुलुकमा भने कलकारखाना तथा सवारीसाधनमा विद्युत्को पूर्ण प्रयोग हुन अझै वर्षौं लाग्ने देखिन्छ । हामीले सबैभन्दा पहिले हावालाई सफा राख्न जरुरी छ । यसपछि क्रमशः तेज, जल, माटो आदिलाई सफा राख्नुपर्छ । गाउँमा बाँसको दाउरा बाल्न हुँदैन भनिन्छ । यसको कारण चाहिँ बाँसको दाउरा बाल्दा धेरै धुवाँ आउँछ भनेर नै हो । हामीले दैनिक जीवनमा धुवाँ फाल्ने वस्तु जति धेरै प्रयोग गर्दै जान्छौँ, त्यति नै हामीले सास फेर्ने हावा प्रदूषित हुँदै जान्छ । त्यसैले हाम्रो प्राणवायु हावालाई जति स्वच्छ राख्न सक्यौँ, त्यति नै मानवको कल्याण हुन्छ । त्यस्तै गाउँघरतिर बुढापाका मान्छेले आफ्नो जीवनको उत्तरार्धमा एक बोट पीपल अनिवार्य रूपमा सार्थे । अहिले यो चलन पनि लोप भइसक्यो भन्दा हुन्छ । पीपलका विशेषता पनि थुप्रै छन् ।
गाउँमा प्रायः सबै घरमा तुलसीको मठ हुन्छ । तुलसी एकातिर श्रद्धाको प्रतीक हो भने अर्कातिर ऊर्जाशील बिरुवा हो । तुलसीको पातको प्रयोग विभिन्न प्रकारका औषधीहरूमा समेत गरिन्छ । तुलसीले चौबीस घण्टा नै नियमित रूपमा अक्सिजन दिन्छ । यसैगरी गाउँमा घरनजिकै दुबो लगाउने चलन पनि थियो । दुबो वर्षभरि नै हरियो रहन्छ । हरियो रङलाई सगुन मानिन्छ । हरियालीप्रति कसलाई प्रेम नहोला र ! आज विकसित सहरमा पनि हरियालीलाई निकै महìव दिने गरिन्छ । हाम्रो देशका ठुल्ठूला सहरहरू अव्यवस्थित छन् । विकसित देशका सहरमा चारैतिर हरियाली हुन्छन् ।
देशका कतिपय नागरिक गाउँको जमिन बाँझो छोडेर सहर कुदिरहेका छन् । आखिर यस्तो बाध्यता किन सिर्जना हुँदै छ ? सहरप्रति यति धेरै मोह किन ? सायद सहरका भौतिक सुख–सुविधाले तानेको हुन सक्छ । गाउँमा दैनिक जीविकोपार्जन गर्नका लागि कठोर परिश्रम गर्नुपर्छ । सहरमा यसका लागि केवल पैसा भए पुग्छ । सहरमा हरेक वस्तु किन्न पाइन्छ । गाउँमा हरेक वस्तु परिश्रम गरेर उत्पादन गर्नुपर्छ । सहर रहरहरूको गोदाम हो । सहर रहरहरूको चिहान पनि हो । गाउँमा लेकबेँसी गर्नु पनि उपयुक्त हुन्छ, जसले शरीरलाई स्पूmर्ति दिन्छ । हाम्रो शरीर जति चल्दै जान्छ, त्यति नै बलियो र निडर हुँदै जान्छ । परिश्रमले जीविकोपार्जन गर्नु सबैभन्दा सुन्दर कला हो तर सहरको जीवनशैली ऊर्जाशील हुँदैन भन्न खोजिएको होइन । सहरको जीवन पनि ऊर्जाशील त हुन्छ तर हाम्रो मुलुकका सहरहरू अव्यवस्थित छन् । अनियन्त्रित छन् । कतिपय सहरहरू त केवल फोहोर उत्पादन गर्ने, खाने र सुत्ने ठाउँ मात्र बनेका छन् । यहाँ कुनै ज्ञान र वस्तु उत्पादन भइरहेका छैनन् । जताततै फोहोरमैला छन् । ढल यत्रतत्र बगिरहेका छन् । धुवाँधुलो छन् । नाक खुम्च्याएर हिँड्नुपर्ने अवस्था छ ।
यतिखेर गाउँमा मान्छे खोज्दै जाने हो भने दुई÷चार जना बुढापाका मात्र भेटिन्छन् । कतिपय गाउँमा त मलामी पाउनसमेत मुस्किल परिसक्यो । यसका कारण ऊर्जाशील युवा जनशक्ति देशबाट बाहिरिनु र बाँकी जनशक्ति सहर केन्द्रित हुनु पनि हो । गाउँको जीवनशैली त्यागेर सहर केन्द्रित हुनु भौतिक सुख–सयलको खोजी गर्नु हो तर कतिपय सन्दर्भमा “हातमा सुनको थाली छ, भिक्षामा पित्तलको पैसा मागिरहेछ” भनेजस्तै हो यो कुरा ।
आफ्नै उत्पादन, आफ्नै दैनिकी, आफ्नै जीवनशैली, आफ्नै पानीपँधेरो, आफ्नै संस्कार÷रहनसहन यी सबै त्यागेर बनावटी जीवनशैलीको पछाडि दुनियाँ घनीभूत रूपमा लागेको छ । भनिन्छ, आफूसँग भएका सबै वस्तुभन्दा अरूले पठाइदिएको खोस्टो उपहार हामीलाई ठूलो लाग्छ । यसलाई अझै यसरी स्पष्ट पार्न सकिन्छ कि मासिक हजारौँ तलब बुझ्ने कर्मचारी पनि अरूले उपहारस्वरूप पठाइदिएको दुई सयको घडीमा सन्तुष्ट भएको देख्न सक्छौँ भनेजस्तै हामी गाउँको प्राकृतिक जीवनशैली छाडेर सहरको यान्त्रिक जीवनशैलीमा रमाउँदैछौँ । सहरमा जीवन बिताउनु र रमाउनुलाई अन्यथा मान्न हुँदैन तर गाउँको परम्परागत ज्ञान तथा स्वस्थ, स्वच्छ र निश्छल जीवनशैली गुमाउनु चाहिँ हुँदैन । बरु यस्ता ज्ञान, सीप र जीवनशैलीलाई पनि गाउँबाट सहर भित्र्याउनु पर्छ । यसले व्यवस्थित सहरीकरण बनाउन मद्दत गर्छ र मानवको कल्याण गर्नमा योगदान पु¥याउँछ । अनि गाउँलाई सहर बनाउँदा वा गाउँबाट सहर जाँदा यसले कोसेलीको रूप ग्रहण गर्नेछ ।