• १३ असोज २०८१, आइतबार

कोशी प्रदेश नामाङ्कनविरुद्ध आन्दोलन

आन्दोलनकारीबाट उर्लाबारी नगरपालिका ६ का वडाअध्यक्ष कुटिए

blog

उर्लाबारी नगरपालिका बन्द गराउन गएका आन्दोलनकारीलाई रोक्ने प्रयास गर्दै सुरक्षाकर्मी। तस्बिर: हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत १४ गते। कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेललाई कुटपिट गरेका छन्। 

कोशी प्रदेशको विरोधमा आन्दोलनरत कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा अध्यक्ष पौडेलमाथि कुटपिट गरिएको हो। कुटपिटबाट वडा अध्यक्ष  सामान्य घाइते हुनुभएको छ। पहिचानवादीले कार्यालय किन खोलेको भन्दै आफूमाथि हातपात गरेको वडाअध्यक्ष पौडेलले बताउनुभयो। 

वडाध्यक्ष पौडेलले आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिनुभएको छ। आन्दोलनकारीले पदम लिम्बू लाजेहाङलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय तहमा तालाबन्दी गरेका छन्।

यस्तै सङ्घर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यस अघि नै गरेको थियो। सङ्घर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन्।

यसैबीच कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। आन्दोलनकारीले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी  गरेको नगर प्रमुख गङ्गाप्रसाद खरेलले जानकारी दिनुभयो।