काठमाडौँ, चैत १३ गते । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ छवि भएका प्रहरी आवश्यक रहेको बताउनुभएको छ।
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई गृह मन्त्रालयमा आइतबार दज्र्यानी चिह्न प्रदान गर्ने क्रममा उहाँले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्या समाधान गर्ने बताउनुभयो। समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटना वृद्धि भइरहेका बताउँदै उहाँले त्यसको समाधान गर्न प्रहरीमा आत्मविश्वास र अठोट अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो।
सचिव सिंहले प्रहरी सङ्गठनमा हुने अनुशासनहीनता, लापरबाही तथा आर्थिक अनियमिततामा शून्य सहनशीलता अपनाउन आईजीपी कुँवरलाई निर्देशन दिनुभयो। प्रहरी सङ्गठनका अगाडि अनेक चुनौती रहेको बताउँदै उहाँले व्यावसायिक प्रहरी सङ्गठन बनाउन गृह मन्त्रालयले उपयुक्त तालिम तथा समयक्रमअनुसार नयाँ प्रविधियुक्त बनाउन अग्रसर रहेको बताउनुभयो। ‘सङ्गठन शुद्धीकरण पहिलो प्राथमिकता’
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको शुद्धीकरण र सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।
पद बहालीपछि प्रहरी प्रधान कार्यालयमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै उहाँले सङ्गठनभित्र कमीकमजोरी रहेको र त्यसको आन्तरिक शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। प्रहरी सङ्गठनभित्र केही गलत व्यक्तिका कारण बेला–बेला समस्या भोग्नु परेको बताउँदै उहाँले आन्तरिक शुद्धीकरणमा आफ्नोे भीष्मप्रतिज्ञा रहने बताउनुभयो।
सङ्गठनका सामु समस्याका चाङ रहेको बताउँदै उहाँले सङ्गठनका दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपाय अवलम्बन गरिने बताउनुभयो। व्यावसायिकता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम गरी सभ्य तथा शिष्ट भई नागरिकलाई सेवा प्रदान गर्न उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो। नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, सङ्गठन सदैव जनमुखी, पारदर्शी र कानुनले निर्देशित गरेको बताउँदै उहाँले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणाअनुरूप शान्तिसुरक्षा कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।