• २९ चैत २०८२, आइतबार

आधुनिकतासँगै हराउँदै आरन

blog

आरनमा आँसी बनाउँदै कुलबहादुर विक । तस्बिर : साजन परियार

फलेवास समाचारदाता 

पर्वत, चैत २९ गते । पछिल्ला दिनमा गाउँबस्तीमा चलनचल्तीमा रहेका कतिपय पेसा, व्यवसाय ओझेलमा पर्न थालेका छन् । बसाइँसराइ, शिक्षा रोजगारीलगायतले परम्परागत सिप र व्यवसाय पछिल्ला पुस्ताले बिस्तारै छाड्दै जाने चलन बढिरहेका बेला पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँका तीन जना कालिगड भने अझै आरन पेसामा लागेर गुजारा चलाइरहेका छन् । 

सानै उमेरदेखि आरन पेसामा संलग्न यहाँका ४१ वर्षीय रामबहादुर विकले यो पेसामा भविष्य नदेखेपछि बिदेसिने निर्णय गर्नुभयो । रोजगारीको खोजीमा सात वर्ष साउदी अरब र दुई वर्ष दुबईमा बिताएपछि उहाँ पुनः गाउँ फर्किनुभयो । विदेशमा बिताएको झन्डै एक दशकले आर्थिक रूपमा केही राहत दिए पनि मन भने आफ्नै माटो र बाउबाजेको पेसामै अडिएको उहाँ बताउनुहुन्छ । विकले भन्नुभयो, “हामी गाउँघरमा बस्नेका लागि यो पेसा अति आवश्यक छ । गाउँघरमा आरन नहुने हो भने यहाँको जीवन कसरी चल्न सक्छ । पैसा धेरै नआए पनि बाउबाजेको पालादेखि गर्दै आएको काम छोड्न मनले मानेन र विदेशबाट आएपछि पनि यही पेसामा अँगालेको छु ।” उहाँका अनुसार आरन पेसा केवल जीविकोपार्जनको माध्यम मात्र होइन, गाउँको दैनिक जीवनसँग जोडिएको अत्यावश्यक सेवा पनि हो । खेतीपातीका औजारदेखि घरायसी सामग्रीसम्म बनाउन आरन अपरिहार्य हुने उहाँको भनाइ छ । यद्यपि पछिल्लो पुस्ताले आरन पेसालाई खासै महŒव नदिएकोमा उहाँ चिन्तित हुनुहुन्छ । 

परम्परागत पेसालाई जीवन्त राख्दा पनि स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “दुई वर्षअघि नगरपालिकाबाट एउटा घन र रेती दिएको थियो । त्यसबाहेक अरू केही सहयोग पाएको छैन । अहिलेसम्म पनि पुरानै सामानबाट औजार बनाउनु परेको छ ।” उहाँले आरन पेसालाई आधुनिकीकरण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न सके गाउँमै रोजगारी सिर्जना हुने बताउनुभयो । त्यसका लागि आवश्यक तालिम, प्रविधि र आर्थिक सहयोगको भने अभाव रहेको उहाँको भनाइ छ । राज्यको उपेक्षाका कारण आरन पेसा सङ्कटमा पर्दै गएको भन्दै सोही गाउँका अर्का कालिगड ५७ वर्षीय कुलबहादुर विकले चिन्ता व्यक्त गर्नुभयो । 

बजारमा नयाँ नयाँ प्रविधि भित्रिँदै गए पनि आवश्यक औजार र प्रविधिको अभावमा परम्परागत आरन व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्दा पुख्र्यौली पेसा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । करिब दुई दशकदेखि बाउबाजेको पेसा धान्दै आएका उहाँले यही कामबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । कोदालो, बन्चरो, आँसी, बाउसोलगायतका कृषि औजार निर्माण तथा मर्मत गरेर न्यून आम्दानीमा गुजारा चलाउँदै आएका उहाँले बजार अभाव र उचित मूल्य नपाउँदा पेसा टिकाउन झन् कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही तरिकाले समाज परिवर्तन हुँदै जाने हो भने आरन व्यवसाय गाउँघरबाटै हराउँदै जाने सम्भावना छ ।” उहाँका अनुसार काम राम्रो लागेर टाढा टाढाबाट पनि मानिस आउने गर्छन् तर मेहनत अनुसारको मूल्य कहिल्यै पाइँदैन ।” 

उहाँका अनुसार पछिल्लो समय परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग घट्दै जानु र राज्यबाट आवश्यक सहयोग नपाइनुले यो पेसा थप सङ्कटमा परेको छ । उहाँले भन्नुभयो, “अहिलेका युवामा यो पेसाप्रति चासो छैन । मैले सानैदेखि बाउबाजेले गरेको देखेरै सिकेको हुँ तर अहिलेको पुस्ताले सिक्न चाहँदैन । सिकेको सिप कहिल्यै खेर जाँदैन, यसबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।”

पहिले गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य भए पनि अहिले घट्दै गएको छ । कोइला र दाउरा अभाव हुँदै जाँदा आरन पेसा प्रभावित बनेको उनीहरूको भनाइ छ । स्थानीय सरकारले आवश्यक सहयोग र संरक्षणमा ध्यान नदिँदा परम्परागत सिपमा आधारित यो पेसा बिस्तारै इतिहास बन्दै जाने चिन्ता कालिगडले व्यक्त गरेका छन् । अर्का आरन व्यवसायी अमृत सुनारले आवश्यक प्रविधि र आधुनिक औजार उपलब्ध हुने हो भने यस पेसाबाट राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । 

स्थानीय सरकारले पुख्र्यौली पेसाप्रति स्पष्ट नीति र राहत कार्यक्रममा ध्यान नदिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँका अनुसार पहुँच भएकाहरूले नगरपालिकाबाट विभिन्न सुविधा लिँदा वास्तविक किसान तथा परम्परागत पेसामा निर्भर व्यक्ति भने वञ्चित हुँदै गएका छन् । “पहुँच हुनेले अनेकौँ फाइदा लिन्छन् तर वास्तविक रूपमा काम गर्नेले पाउँदैनन्,” सुनारले गुनासो गर्नुभयो ।