• १३ असोज २०८१, आइतबार

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

blog

प्रहरीले बरामद गरेका सामान ।

शेरबहादुर राई

ओखलढुङ्गा, चैत १२ गते। सुन लगायतको गरगहना सफा गर्ने भन्दै ठगी गरेको आरोपमा ओखलढुङ्गामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सुनका पुराना गरगहना सस्तो मूल्यमा सफा गरिदिने भन्दै विभिन्न किसिमका रासायनिक पदार्थ प्रयोग गरेर गरगहनाको परिमाणमा कम गरी ठगी गर्ने तीन जनालाई प्रहरीले जिल्लाको मोलुङ गाउँपालिका-२ बाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-११ का ४४ वर्षीय राजेश शाह, भारतको फरबिसगंजका ४४ वर्षीय सुनिल मण्डल र सोही ठाउँका ४३ वर्षीय पारसकुमार दास रहेको प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो। 

प्रहरी निरीक्षक राईका अनुसार पक्राउ परेकाबाट प्रहरीले विभिन्न प्रकारका रासायनिक पदार्थ समेत बरामद गरिएको छ। सफा गरिदिने भन्दै सुन पगालेर आधा सुन लैजाने गरिएको समेत सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो। 

जिल्लामा यस्तो गिरोह नै प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमल बानियाँले गाउँमा यस्तो गिरोह प्रवेश गरेकाले सचेत रहन सार्वजनिक सूचना जारी गरेर अपिल गर्नुभएको छ।