• ८ मंसिर २०८१, शनिबार

युरोकप छनोट : एमबाप्पेको दुई गोल, लुकाकुको ह्याट्रिक

blog

गोल गरेपछि खुसी मनाउँदै फ्रान्सका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत ११ गते । फ्रान्स र बेल्जियमले युरोकप फुटबलको छनोट खेलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० गोलले हरायो । अर्को खेलमा बेल्जियमले स्वीडेनलाई ३–० गोलले स्तब्ध बनायो ।

फ्रान्सको जितमा कप्तान केलियन एमबाप्पेले दुई गोल गर्नुभयो । एन्टोइन ग्रीजम्यान र डायोट उपामेकानोले एक/एक गोल गर्नुभयो । ग्रीजम्यानले दोस्रो मिनेटमा गोल गर्दै फ्रान्सको उत्साह जगाउनुभएको थियो ।

आठौँ मिनेटमा डायोटले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि एमबाप्पेले २१औँ र ८८औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । जितसँगै समूह ‘बी’ मा रहेको फ्रान्सले तीन अङ्क बनाएको छ । नेदरल्यान्ड्सले हारबाट छनोट खेलको सुरुवात गरेको छ । 


यस्तै ‘एफ’को खेलमा बेल्जियमलाई जिताउन रोमेलु लुकाकुले ह्याट्रिक गर्नुभयो । लुकाकुले ३५औँ, ४९औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । जितसँगै बेल्जियमले समूहमा तीन अङ्क बनाएको छ । एजेन्सी