• १३ साउन २०८१, आइतबार

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड

blog

काठमाडौँ, चैत ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी व्यवसायलाई घरेलु उद्योगका रूपमा विकास गर्न सकिने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको पदाधिकारीसँग शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले सुनचाँदी व्यवसायीलाई घरेलु उद्यमका रूपमा विकास गर्न सकिए धेरै लाभ लिन सकिने धारणा व्यक्त गर्नुभएको हो । 

सो अवसरमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभएको महासङ्घले जनाएको छ । घरेलु श्रम र सीपको प्रयोग गरी यो व्यवसाय सञ्चालन गर्दा राज्य, व्यवसायी र आमउपभोक्ता सबैलाई फाइदा पुग्ने बताउनुभयो । मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारी वहन गर्नुपर्ने उहाँको भनाइ छ । वर्तमान सङ्कट समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो । 

सो अवसरमा महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले आर्थिक विकास र समृद्धिका लागि सुनचाँदी व्यवसायीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कच्चा पदार्थको अभावमा व्यवसायीले समस्या झेल्नु परेको बताउँदै पर्याप्त कच्चा पदार्थको आयात सुनिश्चित गरी नेपाली गरगहनाको निर्यात प्रवद्र्धनमा ध्यान दिन सक्नुपर्ने बताउनुभयो ।