• २८ चैत २०८२, शनिबार

गण्डक विद्युत् उत्पादन १५ बाट ३ मेगावाटमा झर्‍यो

blog

सुझावपत्र पेश गर्दै । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत २८ गते ।
पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। गण्डक अभियन्ता तथा गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीका प्रवक्ता बृजराज कुशवाहाका अनुसार शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई भेटी समस्या र समाधानसहितको विस्तृत सुझावपत्र पेश गरिएको हो।

मन्त्रीसँगको छलफलमा केन्द्रको उत्पादन घट्नुको कारण र समाधानबारे चासो व्यक्त गर्दै विस्तृत प्रतिवेदन माग गरिएको थियो। सोही अनुरूप कुशवाहाले स्थलगत अनुभव र अध्ययनका आधारमा सुझावपत्र बुझाउनुभएको हो।

कुल १५ मेगावाट उत्पादन क्षमता रहेको यस केन्द्रबाट हाल मात्र ३ देखि ४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। सुझावपत्रमा उल्लेख भएअनुसार मुख्य गण्डक पश्चिमी नहरमा बालुवा जम्नु, लामो समयदेखि मर्मत–सम्भार नहुनु, पुराना उपकरण तथा कमजोर प्राविधिक व्यवस्थापनका कारण उत्पादन क्षमतामा ह्रास आएको हो। उपलब्ध स्रोतको उचित उपयोग हुन नसक्दा राष्ट्रिय ऊर्जा प्रणालीमा असर परेको दाबी पत्रमा गरिएको छ।

अभियन्ता कुशवाहाले परियोजनाको सुधार र उत्पादन वृद्धिका लागि आफू र आफ्नो समिति सरकारसँग सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो। गण्डक जलविद्युत केन्द्रलाई पुनः पूर्ण क्षमतामा सञ्चालन गर्न सके नेपालको ऊर्जा आत्मनिर्भरताको लक्ष्यमा ठूलो सहयोग पुग्ने सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्।