• १३ साउन २०८१, आइतबार

पन्ध्र जनालाई सगरमाथा आरोहण अनुमति

blog

काठमाडौँ, चैत ११ गते । यो वर्षको वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न १५ जनाले अनुमति लिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्रबार पहिलो आरोही समूहलाई आरोहणको अनुमति दिनुभएको पर्यटन विभागले जनाएको छ।

विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाले १० जना पुरुष र पाँच जना महिलाले पहिलो आरोहण अनुमति लिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सगरमाथा आरोहण गर्न अस्ट्रेलिया, चीन, जर्मनी, हङ्गेरी, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्यान्ड र अमेरिकाका नागरिकले पहिलो अनुमति लिनुभएको छ। अहिले खुम्बु आइसफलसम्म बाटो बनाउने काम भइरहेको र लगत्तै डोरी टाँग्ने काम सकेपछि अबको तीन सातापछि सगरमाथामा आरोहण सुरु हुन्छ।”

सगरमाथामा पहिलो आरोहणको अनुमतिबाट सरकारलाई दुई करोड १६ लाख ८६ हजार रुपियाँ रोयल्टी सङ्कलन भएको छ। यस सिजनमा अन्य पाँच हिमाल आरोहण गर्न ५३ जनाले अनुमति लिएका छन्। पुरुष ३६ जना र महिला १७ जनाले लिएको आरोहण अनुमतिबाट सरकारलाई एक करोड ३६ लाख चार हजार ७३० रुपियाँ रोयल्टी प्राप्त भएको छ।