अमरराज नहर्की
तनहुँ, चैत २८ गते । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा तनहुँको पर्यटकीय नगरी बन्दीपुरका होटल र सामुदायिक होमस्टेहरूमा बुकिङ बढ्न थालेपछि यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । पहाडकी रानी नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउन आउने पर्यटकको अग्रिम माग उच्च देखिएपछि व्यवसायीहरू उत्साहित भएका हुन् ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले नयाँ वर्षमा बन्दीपुर बजार मात्र नभई गाउँका होमस्टेहरूमा पनि पाहुनाको स्वागतका लागि विशेष व्यवस्था गरिएको जानकारी दिनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “हामीले बजार क्षेत्रको आधुनिक सुविधासँगै गाउँका मौलिक सामुदायिक होमस्टेहरूलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौँ । आन्तरिक तथा बाह्य पर्यटकले बजारको चहलपहलसँगै गाउँका होमस्टेमा बसेर स्थानीय संस्कृति र अर्गानिक खानपानको आनन्द लिन सक्नेछन् ।’’
बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष बैस गुरुङले नयाँ वर्षका लागि होटलहरूको बुकिङ उत्साहजनक रहेको बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रका साना–ठुला होटलहरूमा वैशाख १ गतेका लागि करिब ७० देखि ८० प्रतिशत कोठाहरू अग्रिम बुकिङ भइसकेका छन् । लामो समयपछि पर्यटकको यति ठुलो चाप देखिँदा व्यवसायीमा नयाँ उत्साह पलाएको गुरुङको भनाइ छ ।
यस्तै, बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँले नयाँ वर्षका लागि गाउँका होमस्टेहरूमा पाहुनाको माग निकै बढेको बताउनुभयो । बानियाँले भन्नुभयो, “धेरैजसो पर्यटकहरू सहरको कोलाहलभन्दा गाउँको शान्त वातावरण र मौलिक आतिथ्यता खोज्दै होमस्टेमा आउनुहुन्छ । हामी उहाँहरूलाई स्थानीय कौराह, चुड्का नाच र अर्गानिक परिकारले स्वागत गर्न आतुर छौँ ।’’
बन्दीपुरमा विशेष गरी पुराना घरहरूको वास्तुकला, केबुलकार, सिद्ध गुफा र हिमालको दृश्य हेर्न पर्यटक पुग्ने गर्छन् । नयाँ वर्षको अवसरमा बजार क्षेत्रको सरसफाइ र सौन्दर्यीकरणलाई तीव्रता दिँदै व्यवसायीहरूले पर्यटकलाई थप आकर्षणका प्याकेज समेत घोषणा गरेका छन् । १० देखि ३० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ ।