काठमाडौँ, चैत ११ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनले पाँच वर्ष नै निरन्तरता पाउने दाबी गर्नुभएको छ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले पाँच वर्षसम्म सरकार कायम रहने बताउनुभयो।
सरकार निर्माणका लागि मात्रै गठबन्धन बनेको नभई जनताका समस्या समाधान गर्नसमेत प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। मुलुकमा आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौतीको विषय रहेको र यसलाई समाधान गर्न गठबन्धन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
एक अर्को कार्यक्रममा उहाँले हाइड्रोपावर, पर्यटनलगायतका सबै क्षेत्रमा भ्रष्टाचारका कारण विकासका काममा अवरोध आउने गरेको बताउनुभयो। कहीँ एउटा नदीमा १० वटा पुल बन्ने कुनैमा एउटा पनि नभएको, सुशासनको पक्ष पारदर्शितासँग जोडिएको र बिनापैसाको कुनै पनि काम हुँदै नहुने अवस्था आएको बताउनुभयो।