• १३ साउन २०८१, आइतबार

घट्यो मातृ मृत्युदर : प्रति एक लाख जन्ममा मातृ मृत्युदर १५१

blog

सांकेतिक तस्बिर

काठमाडौं, चैत  १० गते। नेपालमा मातृ मृत्युदर घटेको अध्ययनले देखाएको छ।

सन् २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) ले प्रति एक लाख जन्ममा मातृ मृत्युदर २३९ रहेको देखाएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८को प्रतिवेदन अनुसार नेपालमा एक लाख जीवित जन्ममा मातृ मृत्यु घटेर १५१ मा झरेको हो। 

गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ।

अध्ययनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन कार्यविधि बनाएको थियो। 

जनगणनाका समयमा जनगणनाका गणकले गणनाको क्रममा कुनै घरपरिवारमा एक वर्षभित्रमा कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनी अध्ययन गरेका थिए। यदि कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरूले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउने छन्। 

त्यसपछि स्वास्थ्यकर्मीले मातृ मृत्यु भएको घरमा पुगेर ‘भर्वल अटप्सि’ प्रश्नावली भरेका थिए। प्रतिवेदन अनुसार अध्ययनका क्रममा गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्यु मध्ये ९५ प्रतिशत ६२२ मातृ मृत्यु रहेको छ। 

प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४.८ प्रतिशत रहेको छ। मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ।

कुन प्रदेशमा कति आमाको मृत्यु ?

जनगणनाको प्रतिवेदन अनुसार मातृ मृत्यु दर सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखाएको छ। सो प्रदेशमा २०७ आमाको मृत्यु भएको छ। 

त्यसैगरी,  कर्णाली प्रदेशमा १७२, गण्डकीमा १६१, कोशी प्रदेशमा १५७, मधेश प्रदेशमा १४०, सुदूरपश्चिम प्रदेशमा १३० र बागमती प्रदेशमा ९८ आमाको मृत्यु भएको अध्ययनले देखाएको छ। दिगो विकासको लक्ष्य अनुरूप सन् २०३० सम्ममा यो अनुपात ७० मा झार्ने सरकारको लक्ष्य छ।