• २८ चैत २०८२, शनिबार

धौलागिरि अस्पतालमा मिर्गौला तथा पिसाब सम्बन्धी विशेषज्ञ सेवा

blog

बिरामीसँग परामर्श गर्नुहुँदै मिर्गौला रोग विशेषज्ञ डा. विकास खत्री । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २८ गते । मिर्गौला रोगीका लागि डायलायसिस सेवा प्रवाह गरिरहेको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला तथा पिसाबसम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा सुरु भएको छ । 

हरेक महिनाको अन्तिम शनिबार मिर्गौला तथा पिसाबसम्बन्धी बिरामीहरूका लागि विशेषज्ञ सेवा सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण घिमिरेले जानकारी दिनुभयो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कार्यरत प्रमुख कन्सल्टेन्ट मिर्गौला रोग विशेषज्ञ डा. विकास खत्रीले बिरामीलाई सेवा प्रदान गर्नु हुनेछ । सेवा शुरु गरिएको पहिलो दिनमै २५ जना बिरामीहरूले प्रत्यक्ष लाभ लिएको डा. घिमिरेले बताउनुभयो । 

तत्कालका लागि मासिक रुपमा गरिने विशेषज्ञ सेवाले बिरामीहरु लाभान्वित हुने डा. तिवारीको भनाइ छ । ‘‘अस्पतालमा मिर्गौला तथा पिसाब सम्बन्धी सेवा नहुँदा धेरै बिरामीहरु पोखरा र काठमाडौंको अस्पतालमा धाउन बाध्य थिए । अस्पतालको सेवा सुरु गरेपछि अब त्यस्ता बिरामीले राहत पाउँछन्’’ डा. घिमिरेले भन्नुभयो, ‘‘सेवा दिँदै स्थायी चिकित्सकको व्यवस्थापनका लागि पनि पहल गरिरहेका छौं ।”

मिर्गौला रोग, पिसाबमा समस्या (रगत, प्रोटिन देखिने), उच्च रक्तचाप नियन्त्रणमा समस्या, शरीर सुन्निने, मधुमेहका कारण मिर्गौलामा असर परेका बिरामीहरू लगायतका सेवाग्राहीले विशेषज्ञ सेवाबाट लाभ लिन सक्ने डा. घिमिरेले बताउनुभयो । 

यसअघि अस्पतालले हरेक महिनाको दोस्रो शनिबार मनरोग विशेषज्ञ चिकित्सकद्वारा उपचार तथा परामर्श सेवा समेत नियमित रूपमा सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा तीन वर्षे नर्सिङ पढाइको तयारी पनि थालिएको छ । नर्सिङ पढाइका लागि प्रयोगशालासहितको पूर्वाधार निर्माण गर्न गण्डकी प्रदेश सरकारले ७० लाख बजेट छुट्टाएको छ ।