अमरराज नहर्की
तनहुँ, चैत २८ गते । बन्दीपुर गाउँपालिका क्षेत्रमा सञ्चालित व्यवसायमा गरिएको अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीहरू कारबाहीको दायरामा परेका छन् । पटक–पटकको निर्देशन अटेर गर्ने एक खाजा घरलाई ५ हजार रुपियाँ जरिवाना गरिएको छ ।
गाउँपालिकाको आयोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँको समन्वयमा गरिएको अनुगमनका क्रममा सो खाजा घरमा प्रयोग गरिएको तेलको गुणस्तर परीक्षण गरिएको थियो । अनुगमन टोलीले गरेको परीक्षणमा तेलको टिपिएम भ्यालु २५ भन्दा बढी पाइएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अनुगमनका क्रममा टिपिएम भ्यालु २५ भन्दा बढी देखिएको र पटक–पटक प्रयोग गरिएको करिब २० लिटर अखाद्य तेल बरामद गरी तत्काल नष्ट गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र निर्देशन अटेर गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याइएको हो ।’’
अनुगमनका क्रममा विभिन्न पसलबाट ५० हजार ६५ रुपियाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ । गाउँपालिकाका विभिन्न बजारका ११८ वटा व्यवसायको अनुगमन गर्दा २६ वटा पसल दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि ती व्यवसायीलाई सात दिनभित्र अनिवार्य दर्ता गर्न कडा निर्देशन दिइएको छ ।
साथै, ११ वटा व्यवसायलाई तत्काल सुधारका लागि मौका दिइएको छ । गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने जो–कोहीलाई पनि कानुनी कारबाही गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘व्यवसायीहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्न पटक–पटक आग्रह गर्दै आएका छौँ, अटेर गरे कारबाहीको विकल्प छैन ।’’ आगामी अनुगमनमा समेत कमजोरी पाइए कडाइका साथ कारबाही गरिने चेतावनी दिइएको छ । अनुगमनमा खाद्य निरीक्षण अधिकृत, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।