• ७ जेठ २०८१, सोमबार

प्रधानमन्त्री थ्री नेसन्स कप

लाओसलाई हराउने दाबी

blog

प्रिम्याच कन्फरेन्समा आफ्नो धारणा राख्दै नेपालका प्रशिक्षक र कप्तान । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ७ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी गर्नुभएको छ ।

प्रतियोगिता अघि मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा मुख्य प्रशिक्षक एनेसले थ्री नेसन्स कपका लागि उत्कृष्ट खेलाडी छनोट गरेको पनि बताउनुभयो ।

‘‘टोलीमा उत्कृष्ट खेलाडी समावेश गरेका छौँ । तयारी छोटो भएपनि युवा खेलाडीको प्रदर्शन राम्रो हुने ठानेको छु । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राम्रो खेलिरहेका खेलाडी समेटिएको छ । विपक्षी टोलीको अवस्थाबारे राम्रो जानकारी राखेको छु । हाम्रो लक्ष्य उत्कृष्ट खेल्दै पक्षमा नतिजा निकाल्नु हुनेछ,’’ एनेसले भन्नुभयो ।

दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । प्रशिक्षक एनेसले मंगलबार बिहान मात्र २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो । 

नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि सबै खेलाडीको मनोबल उच्च रहेको बताउनुभयो । ‘‘घरेलु मैदानमा खेल्न पाउनु खुसीको कुरा हो । सबैले मिहेनत गरेर राम्रो खेल्नेछौँ । हामी सबै लाओसविरुद्ध जित निकाल्न तयार छौँ,’’ किरणले भन्नुभयो । 

यस्तै लाओसका मुख्य प्रशिक्षक माइकल वेसले पनि टोलीका युवा खेलाडीको वर्चस्व रहेकोले उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । ‘‘हामी राम्रो नजिताका लागि खेल्नेछौँ । घरेलु टोलीसँग खेल्न दबाब हुन्छ । तरपनि हामीले राम्रो टिम बनाई रहेका छौँ,’’ वेसले भन्नुभयो ।

लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले पहिलो पटक नेपाल आउन पाएकोमा खुसी व्यक्त गर्दै मैदानमा राम्रो खेल्ने बताउनुभयो । ‘‘हामी नेपालमा खेल्न पाउँदा खुसी छौँ । नेपालमा लाओसको फुटबल कला देखाउन आतुर छौँ,’’ सौकाफोनले भन्नुभयो ।

नेपालले लाआससँग सन् २०१६ पछि पहिलो पटक खेल्न लागेको हो । यसअघि दुई टोली एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा भिडेका थिए ।त्यतिवेला निर्धारित समयको खेल २-२ गोलको बराबरीपछि टाइब्रेकरमा नेपाल विजयी भएको थियो । 

यस्तै भुटानका मुख्य प्रशिक्षक पेमा दोर्जीले प्रतियोगिताका लागि राम्रो तयारी गरेकोले उपाधि जित्ने दाबी गर्नुभयो । ‘‘हामीले दुई महिना तयारी गरेका छौं । टोलीका सबै खेलाडी फिट रहेकोले उपाधि जित्ने हाम्रो लक्ष्य हो,’’ दोर्जीले भन्नुभयो । 

भुटानका कप्तान चेन्चो ग्याल्जेनले पनि प्रतियोगिता खेल्न आफुहरु उत्साहित भएको बताउनुभयो । ‘‘नेपालमा धेरै खेलेको अनुभव छ । साफमा पनि यहाँको दर्शकको राम्रो साथ मिलेको थियो । यस पटक थप राम्रो खेल्नेछौं,’’ ग्याल्जेनले भन्नुभयो । चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू सिङ्गल राउन्ड रोबिन लिगको आधारमा हुनेछ ।

लिगको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। प्रतियोगितामा चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।

नेपाली टोली

गोलरक्षक : किरण कुमार लिम्बू, दीप कार्की र अभिषेक बराल

रक्षक : सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास

स्ट्राइकर : आयुष घलान, नवयुग श्रेष्ठ,  दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष् चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी