• १३ साउन २०८१, आइतबार

कर्मचारीलाई पर्यटन काजको सुविधा

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, चैत ७ गते ।  कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई राहत पु-याउन बागमती प्रदेश सरकारले अघि सारेको आन्तरिक पर्यटन काज कार्यक्रमबाट कर्मचारी लाभान्वित हुँदै आएका छन्।

प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीलाई पर्यटन भ्रमण सुविधा दिई मनोबल बढाउँदै सेवाप्रति उत्प्रेरित गर्न आन्तरिक पर्यटन काजको व्यवस्था गरिएको हो।

प्रदेश सरकारले आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड २०७९ जारी गरी चालु आवमा पनि यो कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेश सरकारले सुरु गरेको पर्यटन काज कार्यक्रम प्रभावकारी भएको कर्मचारीले प्रतिक्रिया दिएका छन्। 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख मनिष महर्जनले प्रदेश सरकारले ल्याएको पर्यटन काज अत्यन्तै नै प्रभावकारी रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “कार्यालयको कामले कहीँकतै जान पाइएको हुँदैन, परिवारका सदस्यलाई समेत समय दिन नसकिरहेको अवस्थामा प्रदेश सरकारले ल्याएको पर्यटन काजले परिवारसँग प्रदेशका विभिन्न स्थानको भ्रमण गर्न सहयोग गर्नुको साथै कर्मचारीलाई नयाँ ऊर्जा प्रदान गरेको छ।” 

सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका लेखा अधिकृत चन्द्रमणि पौडेलले प्रदेश सरकारको पर्यटन काजसम्बन्धी व्यवस्थाले कर्मचारीमा नयाँ ऊर्जा प्रदान गरेको बताउनुभयो। 

“वर्ष दिनसम्म कार्यालयमा काम गरेर बस्ने कर्मचारीले आफ्ना परिवारका सदस्यलाई समय दिन सकेका हुँदैनन्, कहीँकतै आफू घुम्न र परिवारलाई घुमाउनसमेत लैजाने फुर्सद हुँदैन, प्रदेश सरकारले पर्यटन काजबापत दस दिन बिदा दिँदा परिवारका सदस्यलाई घुमाउने उपयुक्त समय हुँदो रहेछ,” लेखा अधिकृत पौडेलले थप्नुभयो। 

सहरी विकास तथा भवन कार्यालयका असिस्टेन्ट सब–इन्जिनियर दिनेश पण्डितले पर्यटन काजसम्बन्धी कार्यक्रमले प्रदेशका विभिन्न स्थानको भ्रमण गर्ने अवसर मिलेको भन्दै यो व्यवस्थाले प्रदेशभित्रकै कतिपय पर्यटकीय क्षेत्रको प्रचार गर्न सहयोग पुगेको बताउनुभयो। 

प्रदेश सरकारले पर्यटन काजमा जाने कर्मचारीलाई कर्मचारीको सुरु तलब स्केलको दस दिन बराबरको पारिश्रमिक रकम भ्रमण खर्चबापत प्रदान गर्ने गरेको छ। सो रकमबाट कर्मचारीले परिवारका अन्य तीन जनासम्मलाई भ्रमणमा सहभागी गराउन सक्नेछन्। भ्रमणमा जाने परिवारका सदस्यलाई समेत प्रतिसदस्य कर्मचारीले पाउने बराबरको दस दिनको पारिश्रमिक पाउनेछन्।