• ७ पुस २०८२, सोमबार

मुग्लिङ–मलेखु सडकखण्ड,चार पुल सम्पन्न, दुई वटा बन्दै

blog

मुग्लिङ–मलेखु सडकखण्डको हुग्दीमा निर्माणहुँदै गरेको पुल ।तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, पुस ७ गते  । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका छ वटामध्ये चार वटा पुलको निर्माण पूरा भएको छ । निर्माण पूरा भएका पुलमा एप्रोच सडक निर्माण धमाधम भइरहेको छ भने हुग्दी र चराँैदीका दुई वटा पुल निर्माण सुरु भएको छ । 

नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रले हुग्दी र चराँैदीका पुल निर्माण गर्ने स्थानका घर हटाउने विषयमा भएको विवाद समाधान भएर निर्माण सुरु भएको बताउनुभयो ।

“हुग्दी र चरौँदीका पुल निर्माण क्षेत्रमा पर्ने संरचना हटाउन नमान्दा समस्या आएको थियो । मुआब्जा विवादका कारण निर्माण प्रव्रिmया अगाडि बढेको थिएन,” उहाँले भन्नुभयो, “विवाद समाधान भएपछि अहिले निर्माण धमाधम भइरहेको छ ।” कार्यालयका अनुसार बार्बाङखोला, मोवाखोला, खटौतीखोला र गोमतीखोलाको पुल निर्माण भइसकेको छ । भदौमा निर्माण सम्पन्न भएको पुलको एप्रोच सडक दुवैतर्फको बाटो निर्माण गरी कालोपत्रे गर्ने काम अहिले भइराखेको छ । निर्माण सम्पन्न भएका २० देखि ३५ मिटरसम्मको लम्बाइका पुलबाट सवारीसाधन सञ्चालन भएपछि ट्राफिक जाम हट्ने र बाटोसमेत छोटिने मिश्रले बताउनुभयो । चरौँदी र हुग्दीको पुल आउँदो असार महिनाभित्र निर्माण पूरा भएर सञ्चालनमा आउने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । 

मुग्लिङदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम भइरहेको छ । अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको सूचना अधिकारी मिश्रले बताउनुभयो । केही समयभित्र यस खण्डमा १८ किलोमिटर कालोपत्रे सडक निर्माण भइसक्ने कार्यालयले जानकारी दिएको छ । 

यो खण्डको चार अर्ब ८० करोड ५९ लाख ७४ हजार ९१२ रुपियाँमा ठेक्का लागेको थियो । निर्माणको ठेक्का पाएको शर्मा जेड आइसिजी जेभीले विसं २०७९ मङ्सिर ७ गते सम्झौता गरेको थियो । सडक विस्तार २०८२ पुस १३ गते सम्पन्न गर्नुपर्ने रहेको थियो । समयमा काम सम्पन्न नहुने भएपछि म्याद थपको काम भइराखेको छ । थपिएको समयमा सडक निर्माण सम्पन्न गर्नुपर्ने दायित्व कम्पनीको भएको उहाँले बताउनुभयो । 

यस सडकको बेनीघाट, मलेखु र मुग्लिङमा छ लेनको सडक निर्माण हुने छ । अन्य स्थानका बस्ती र फराकिलो स्थानमा चार लेन निर्माण हुने छ । त्यस्तै गरी साँघुरो तथा विस्तार गर्न कठिन भएका स्थानमा डेडिकेटेड लेन १० मिटर चौढा गरिने सूचना अधिकारी मिश्रले बताउनुभयो । सबैभन्दा कठिन कृष्णभिर क्षेत्रमा भने अधिकतम १० मिटर चौढाइ पारिने उहाँले जानकारी दिनुभयो । अन्य स्थानमा निर्माण सम्पन्न भएपछि मात्र कृष्णभिर क्षेत्रमा बाटो चौडाइको कार्य गरिने तयारी रहेको छ । 

छ लेनमा कुल लम्बाइ २.३ किलोमिटर हुने छ भने चार लेन सडकको कुल लम्बाइ ७.५ किलोमिटर हुने छ । बाँकी रहेको २९ किलोमिटर डेडिकेटेड दुई लेन सवारीसाधन गुड्ने गरी निर्माण गरिने छ ।