• ७ पुस २०८२, सोमबार

लोकप्रिय माविलाई शैक्षिक सामग्री वितरण

blog

यदुप्रसाद भट्ट

मनाङ, पुस ७ गते । चामेमा रहेको लोकप्रिय आवासीय विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले पाँच लाख ५० हजार रुपियाँ बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

फोर नेपालद्वारा आयोजित तथा मोटर हर्सद्वारा सञ्चालन गरिएको २०८१ सालको बृहत् मोटरसाइकल राइडर मिट कार्यक्रमबाट सङ्कलित रकमबाट शैक्षिक सामग्री वितरण गरिएको हो । वितरित सामग्रीहरूमा चार थान ल्यापटप, दुई थान क्यानन कम्पनीका प्रिन्टर, एक थान इन्भर्टर, दुई थान एक्साइड ब्याट्री तथा केही कापीहरू रहेका छन् । 

प्रविधिमैत्री शिक्षालाई प्रवर्धन गर्ने र दुर्गम हिमाली क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित सामग्री सहयोग गरिएको आयोजक संस्थाले जनाएको छ । मोटर हर्सका अध्यक्ष मोहन गुरुङले मोटरसाइकल राइड केवल साहसिक यात्रा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानसमेत भएको बताउनु भयो । “हिमाली भेगका विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको अभाव छ, त्यसलाई केही हदसम्म सम्बोधन गर्न पाउँदा खुसी लागेको छ,” उहाँले भन्नु भयो ।

फोर नेपालका प्रतिनिधि सकिल थकालीले राइडर मिटबाट उठेको रकम सामाजिक क्षेत्रमा लगानी गर्ने फोर नेपालको निरन्तर अभ्यास रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रधानाध्यापक कृष्णदास कोइरालाले प्राप्त सामग्रीले विद्यालयको पठनपाठनमा ठुलो सहयोग पुग्ने बताउनु भयो । “विद्युत् अभाव र प्रविधिको कमीका कारण शिक्षण सिकाइमा समस्या हुँदै आएको थियो, अब विद्यार्थी डिजिटल शिक्षातर्फ अगाडि बढ्न सक्ने छन्,” उहाँले भन्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरेस थकालीले दुर्गम क्षेत्रका विद्यालयप्रति चासो राखेर सहयोग गर्ने सङ्घसंस्था र व्यक्तिहरूप्रति आभार प्रकट गर्नुभयो । स्थानीय जनप्रतिनिधिहरूले पनि निजी क्षेत्र र सामाजिक संस्थाको सहकार्यले शिक्षा क्षेत्र मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानाध्यापक कृष्णदास कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरेस थकाली, चामे गाउँपालिका वडा ४ का वडाध्यक्ष लोब्साङ लामा, मोटस हर्सका अध्यक्ष मोहन गुरुङ, फोर नेपालका सकिल थकाली तथा छेडुप बम्जनको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।