बुटवल समाचारदाता
बुटवल, पुस ७ गते । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकका लागि लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा एकाइ पछिल्ला वर्षमा जीवनरक्षक बनेको छ । अस्पतालको सामाजिक सेवा एकाइले दुई वर्षमा झन्डै पाँच करोड रुपियाँ बराबरको सहुलियत उपचार उपलब्ध गराएको दाबी गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले दुई वर्षमा चार करोड ८८ लाख ९६ हजार ४१३ रुपियाँभन्दा धेरैको उपचार सहायता प्रदान गरेको बताउनुभयो । एकाइ प्रमुखले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ मा मात्रै १४ हजार ७६४ जना विपन्न, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति, कुपोषित बालबालिकालगायत लक्षित समूहले सहुलियत तथा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
गरिब, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति, कुपोषित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा, प्रहरीद्वारा ल्याइएको घाइते, लैङ्गिक हिंसा प्रभावित, प्राकृतिक प्रभावित, सहिद परिवार तथा लोपोन्मुख जाति र अन्य अस्पतालले स्थानीयताका आधारमा लक्षित समूह निर्धारण गरी पठाएकालाई यो एकाइले सेवा प्रदान गर्दै आएको छ । लक्षित समूहमध्ये अति गरिब तथा विपन्नलाई शतप्रतिशत छुट साथै ज्येष्ठ नागरिकलाई निर्देशिकाले तोके अनुसार छुट ८५ वर्षमाथि एक सय प्रतिशत छुट, आकस्मिक बिरामीलाई अवस्था अनुसार छुट, अन्यलाई ५० प्रतिशत छुटका साथै उपलब्ध औषधी निःशुल्क वितरण गर्दै आएको छ । तथ्याङ्क अनुसार दुई वर्षमा सबैभन्दा धेरै सेवा लिने समूह गरिब र ज्येष्ठ नागरिक छन् ।
आव २०७९/८० मा सात हजार ६९७ जनाले सेवा लिँदा जाँच, उपचार र औषधीमा करिब दुई करोड ६४ लाख ७६ हजार रुपियाँ बराबरको सहुलियत प्रदान गरिएको छ । त्यसै गरी आव २०८०/८१ मा सात हजार ९७ जना लक्षित समूहका सेवाग्राहीले सेवा लिँदा दुई करोड २४ लाख १९ हजार रुपियाँभन्दा बढी रकम बराबरको जाँच, उपचार, शल्यक्रिया र औषधी खर्च अस्पतालले बेहोरेको छ ।
आव २०७९/८० मा महिला तीन हजार ५५९ र पुरुष चार हजार १३८ जनाले सेवा लिएका छन् । त्यसै गरी आव २०८०/८१ मा महिला तीन हजार ९३ र पुरुष चार हजार चार जना सेवाग्राही थिए । सामाजिक सेवा एकाइले जाँच, उपचार मात्र नभई निःशुल्क औषधी वितरण, आइसियु, इमर्जेन्सी, अन्तरङ्ग र बहिरङ्ग सेवा, जेरियाट्रिक (ज्येष्ठ नागरिक) उपचार, अपाङ्गता भएका व्यक्ति तथा कुपोषित बालबालिकाको विशेष सेवा निरन्तर उपलब्ध गराउँदै आएको छ ।
सामाजिक सेवा एकाइ प्रमुख नेत्रप्रसाद आचार्यले पर्याप्त बजेट, स्थायी जनशक्ति एवं सङ्घ, प्रदेश र स्थानीय तहको साझा लगानी सुनिश्चित गर्न सकिए पैसाको अभावमा उपचारबाट कोही पनि वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न सकिने बताउनुभयो । यो एकाइबाट अति विपन्न कुरुवाका लागि खाना, खाजा अस्पतालबाट अन्यत्र रेफर गर्दा एम्बुलेन्स भाडा सहयोग, बेवारिसे बिरामीको व्यवस्थापनलगायतका सेवा उपलब्ध गराइँदै आएको छ ।