• १३ साउन २०८१, आइतबार

पर्यटन बढाउँदै सामुदायिक घरबास

blog

लीलाधर वली 

घोराही, चैत ७ गते । सहरको व्यस्त र कोलाहलपूर्ण जीवनबाट शान्तिसँगै पहाडी जीवनको प्राकृतिक सुन्दरतामा रमाउनेको अहिले रोजाइ बन्ने गरेको छ, छिल्लीकोटमा रहेको मल्लागिरि सामुदायिक होमस्टे ग्राम।

प्राकृतिक वातावरणमा रमाउने, स्थानीय खानपानको स्वाद लिनेसँगै दाङ उपत्यका र पहाडी क्षेत्रको अवलोकनका लागि समेत छिल्लीकोट उपयुक्त गन्तव्य बन्दै गएको छ।

तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको छिल्लीकोट हावापानी र पर्यावरणीय दृष्टिले सुन्दर ठाउँका रूपमा रहेको छ। छिल्लीकोट धार्मिक पर्यटनका रूपमा पनि परिचित छ। धार्मिक पर्यटनका रूपमा रहेको छिल्लीकोट पुग्न सडकको अवस्था राम्रो बनेसँगै पछिल्लो समय घुमफिरसँगै बस्नका लागि छिल्लीकोट जानेको सङ्ख्या बढ्दै गएको छ। 

छिल्लीकोटस्थित मालिका र कालिका मन्दिरमा पूजापाठ, मनोरम दृश्यावलोकनसँगै, प्राकृतिक एवं जैविक विविधता अध्ययनका लागि मानिसहरू पुग्ने गरेको मल्लागिरि सामुदायिक होमस्टे (घरबास) सञ्चालक समितिका अध्यक्ष परवीर पुनमगरले बताउनुभयो। त्यसका साथै होमस्टेमा रात बिताउँदै स्थानीय मगर समुदायको परिकार खाने र कला, संस्कृति बुझ्नसमेत मानिस आउने गरेको उहाँले बताउनुभयो। 

छिल्लीकोट घुम्न आउने मानिस बढ्दै गएपछि स्थानीयको प्रयासमा २०७६ सालदेखि औपचारिक रूपमा मल्लागिरि सामुदायिक होमस्टे ग्राम दर्ता गरेर सञ्चालन गरिएको अध्यक्ष पुनमगर बताउनुहुन्छ। मल्लागिरि सामुदायिक होमस्टे ग्राम छिल्लीकोट नाम दिएर सात घर मिलेर होमस्टे सञ्चालनमा ल्याएको होमस्टे सञ्चालक समितिका अध्यक्ष पुनमगरले बताउनुभएको छ। उहाँले भन्नुभयो, “छिल्लीकोटमा रहेको मन्दिरमा पूजापाठसँगै यहाँको जैविक विविधताबारे अध्ययन गर्ने गरी सामुदायिक होमस्टेमा बस्न मानिस आउने गर्नुहुन्छ।” विशेष गरी घुमफिर गर्ने र स्थानीय स्वादको आनन्द लिनेहरू शुक्रबार र शनिबार होमस्टेमा पाहुनाका रूपमा जाने गरेको स्थानीय तिलबहादुर वली बताउनुहुन्छ। 

होमस्टे सञ्चालन गरेका घरहरूमा कोदो, मकै र जौको ढिँडो, रोटी, अमलाको अचारलगायतका स्थानीय परिकार, स्थानीय मह, स्थानीय कुखुराको मासुलगायतका खान पाइने व्यवस्था छ। होमस्टेमा दुई छाक खाना, बिहानको कालो चिया र सेल खाएको र एक रात सुतेको एक जनाको एक हजार रुपियाँ लिने गरेको होमस्टे सञ्चालक समितिका अध्यक्ष पुन बताउनुहुन्छ। 

गाउँघरमा आम्दानीको स्रोतसमेत हुने भएपछि अरू स्थानीय पनि होमस्टे सञ्चालनमा इच्छुक देखिएका छन्। छिल्लीकोट मगरबहुल गाउँ भएकाले मगर संस्कार, संस्कृति, रहनसहनलाई जोगाउँदै पुराना कलासंस्कृति जोगाउने बलियो आधारका रूपमा पनि होमस्टे बन्ने विश्वास स्थानीयको छ।