• १३ असोज २०८१, आइतबार

नयाँ योजनालाई उत्पादनसँग जोड्न निर्देशन

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, चैत ७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुराना आयोजना चाँडो सक्न र नयाँलाई उत्पादनसँग जोड्न निर्देशन दिनुभएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा विभिन्न स्थानीय तहका प्रमुखहरूको बैठकमा मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिनुभएको हो। 

मुख्यमन्त्री कार्कीले जिल्लामा सञ्चालन भइरहेका आयोजनालाई बजेटको अभाव हुन नदिने बताउनुभएको छ। उहाँले नयाँ सञ्चालन हुने आयोजनालाई उत्पादन र रोजगारसँग जोड्न सम्पूर्ण सरोकारवालालाई निर्देशन दिनुभएको छ। जिल्लाको रुम्जाटार जस्तो दर्जनौँ उत्पादनशील भूमिहरू अहिले बाँझो रहेको उल्लेख गर्दै उहाँले यस्ता क्षेत्रहरूको विकास गरी पुनर्जिवित हुने योजना बनाउन आग्रह गर्नुभयो। 

देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीले दुःख पाएको बताउँदै मुख्यमन्त्री कार्कीले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभयो। कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र युवा स्वरोजगारका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने मुख्यमन्त्री कार्कीको भनाइ छ। 

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा, भगवती मन्दिर रुम्जाटार पार्कको उद्घाटन, रुम्जाटार बौद्ध गुम्बा लामा क्वाटर भवन, सिँचाइ आयोजनाहरूको स्वामित्व हस्तान्तरण, सहरी विकास तथा भवन कार्यालय भवन र मनमोहन तालिम केन्द्रको भवन शिलान्यास, ठाडे–जन्तरखानी सडकखण्ड र सामुदायिक भवन तलुवाको भवन उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्की आइतबार ओखलढुङ्गा आउनुभएको थियो। 

कार्यक्रममा सहभागी हुने क्रममा प्रदेशको पुनःनामकरण माग गर्दै आन्दोलनरत पक्षले गोरुमारे भन्ज्याङमा मुख्यमन्त्री कार्कीलाई कालो झन्डा देखाई गाडी तोडफोड गर्ने प्रयास गरेका थिए। प्रदेशको नाम कोशी राखिएको विरोधमा पहिचानवादी पक्षले गरेको विरोध प्रदर्शनका क्रममा मुख्यमन्त्री सवार गाडीमा तोडफोडको प्रयास गरी गाडीको झन्डा उखालेर फालिएको थियो। 

आइतबार रुम्जाटारमा आयोजित औपचारिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले कुनै पनि हालतमा प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको थियो। प्रदेशको नामको विषयमा छलफलसमेत नहुने उहाँको अडान छ। पहिचान पक्षधरहरूले प्रदेशको नाम किरात राख्न माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।