• १३ असोज २०८१, आइतबार

पाथीभरा क्याम्पसमा नेविसङ्घ–क्रान्तिकारीको प्यानल विजयी

blog

पाथीभरा क्याम्पसमा नेविसङ्घ–क्रान्तिकारीको प्यानल विजयी भएपछि सामूहिक फाेटाे खिच्दै । तस्बिर –चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ६ गते । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल निर्वाचित भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियु–समाजवादी विद्यार्थी युनियनको प्यानललाई पराजित गर्दै संयुक्त प्यानल विजयी भएको हो ।

पाथीभरा बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा चार विद्यार्थी सङ्गठनको संयुक्त प्यानलबाट नेपाली काँग्रेससम्बद्ध नेविसङ्घका अर्जुन खिम्दिङ ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । खिम्दिङले अनेरास्ववियुका मिलन प्रधानलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेसम्बद्ध अनेरास्ववियुका प्रधानले ४३ मत पाउनुभयो । 

यस्तै चार विद्यार्थी सङ्गठनकै प्यानलबाट नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) का मोहन राई ३८९ मतसहित सचिवमा र कोषाध्यक्षमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय विद्यार्थी युनियनकी सुशीला शेर्पा ३४३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

राईले सचिवका प्रत्याशी अनेरास्ववियुका सङ्गम शेर्पा (५७ मत) र कोषाध्यक्षका प्रत्यासी अनेरास्ववियुकै अनिता हेल्लोक (९१ मत) लाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो ।

सदस्यतर्फ नेविसङ्घकी डोल्मा शेर्पा (३७७) र विद्या देवान (३८१), अखिल क्रान्तिकारीका विजयदीप राई (३६८) र राज गुरुङ (३७२), नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियुका खगेन्द्र दर्जी (३५५) तथा सङ्घीय विद्यार्थीका विसन लिम्बू ३६७ मतसहित निर्वाचित हुनुभएको छ ।

सदस्य पदका प्रत्यासीहरु अनेरास्ववियुका सनुजा गौतम, सूर्य शेर्पा र सोममाया गुरुङ, जनता समाजवादी पार्टी नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियनका सुनील लिम्बू, शोभा लिम्बू र लाजरस लिम्बू पराजित हुनुभएको छ ।

यता, समानुपातिकतर्फ नेविसङ्घ, अखिल क्रान्तिकारी, सङ्घीय विद्यार्थी र अनेरास्ववियु प्यानलले ३९० तथा अनेरास्ववियु (एमाले) र समाजवादी विद्यार्थी युनियन प्यानलले ५५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पाथीभरा बहुमुखी क्याम्पस स्ववियु निर्वाचनका लागि कुल ९८४ मतदातामध्ये ४५५ अर्थात ४६.२३ प्रतिशत मत खसेको थियो ।