न्युयोर्क, फागुन २३ गते । गुगल र यसको मातृ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले नयाँ क्षतिपूर्ति योजना अन्तर्गत आगामी तीन वर्षमा अधिकतम ६९ करोड २० लाख डलरसम्म पारिश्रमिक प्राप्त गर्न सक्ने हुनुभएको छ । अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (युएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन) मा शुक्रबार सार्वजनिक गरिएको विवरणले यस्तो जानकारी दिएको हो ।
नयाँ योजनाले पिचाईलाई विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने प्रमुख कार्यकारी अधिकृतमध्ये एक बनाउने अनुमान गरिएको छ । पिचाई सन् २०१५ देखि गुगलका प्रमुख कार्यकारी अधिकृत रहनुभएको छ भने सन् २०१९ देखि अल्फाबेटको नेतृत्व सम्हाल्दै आउनुभएको छ । योजना अनुसार पिचाईको आधारभूत तलबमा भने परिवर्तन गरिएको छैन । उहाँको तीन वर्षका लागि कुल ६० लाख डलर अर्थात् वार्षिक २० लाख डलरको तलब यथावत् रहने छ ।
तर उहाँले पाउने अधिकांश पारिश्रमिक भने कम्पनीको सेयर र प्रदर्शनसँग जोडिएको प्रोत्साहन योजनामार्फत प्रदान गरिने छ । क्षतिपूर्तिको ठूलो हिस्सा अल्फाबेट कम्पनीको सेयरका रूपमा उपलब्ध गराइनेछ । साथै कम्पनी अन्तर्गत रहेका दुई सहायक कम्पनी स्वायत्त सवारी साधन विकास गर्ने वायमो र ड्रोनमार्फत सामान ढुवानी सेवा प्रदान गर्ने विङका सेयर पनि यस योजनामा समावेश गरिएको छ ।
एसइसीमा गरिएको फाइलिङ अनुसार पिचाईले वायमोबाट करिब १३ करोड डलर र विङबाट करिब चार करोड ५० लाख डलरसम्म प्राप्त गर्न सक्ने सम्भावना देखाइएको छ । तर अन्तिम रकम भने कम्पनीको सेयरको प्रदर्शन तथा अल्फाबेटले सेयरधारकलाई दिने लाभांशको अवस्थामाथि निर्भर रहने बताइएको छ ।
कागजात अनुसार यदि कुनै कारणले पिचाई पदबाट हटाइएमा अझै प्रयोग गर्न बाँकी रहेका सबै स्टक विकल्प उहाँले गुमाउनु पर्ने व्यवस्था गरिएको छ । कम्पनीले सार्वजनिक गरेको फाइलिङमा पिचाईको नेतृत्वमा कम्पनीले राम्रो प्रगति हासिल गरेको उल्लेख गरिएको छ । कम्पनीका अनुसार उहाँलाई दिइएको वर्तमान तथा अघिल्ला प्रोत्साहन योजनाले अल्फाबेट र यसका सेयरधारकलाई उल्लेखनीय लाभ पुर्याएको छ । रासस/एएफपी