• २३ फागुन २०८२, शनिबार

दलहरू रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

blog

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन २३ गते । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले विगतमा पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनअपेक्षा अनुसार रूपान्तरण भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

लमजुङमा प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गुरुङले पुराना पार्टी बदलिएर र सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जुन खालको घण्टीको लहर देखियो यो अप्रत्यासित छ, स्वीकार गर्नुपर्छ । पुराना पार्टीको विरुद्ध भएको यो जनमतबारे आत्मसमीक्षा गर्नुपर्छ । हामीले केही कुरामा कार्यशैलीमा सुधार गर्नुपर्ने होला । नीतिगत रूपमा केही सुधार गर्नुपर्ने होला ।” 

उहाँले भन्नुभयो, “उहाँहरूको दुई तिहाइ बहुमत आउलाजस्तो छ । यो नै हाम्रो मुलुकका लागि समस्या हुन सक्छ ।” उहाँले प्राप्त मतलाई सुझबुझपूर्ण ढङ्गले सम्बोधन गर्न सुझाउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनबारे उहाँहरूको प्रतिबद्धता आउनु जरुरी छ ।” 

सङ्घीयता खारेज गर्न खोज्या हो कि ! समावेशी निर्वाचन प्रणालीबारे उहाँहरूको धारणा के हो ? राष्ट्रिय सहमतिको आधारमा बाहेक बलजफ्ती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ, उहाँले भन्नुभयो । 

गुरुङले यसपालीको निर्वाचनमा मतदाताले एजेन्डालाई नभई नयाँको नाममा मात्र मत दिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हरेक निर्वाचनको आफ्नो एजेन्डा हुन्छ । राष्ट्रियता, विकास, सुशासन र संविधानसम्बन्धी आफ्नो दलको धारणा हुन्छ । तर, यस पटकको निर्वाचनमा जनताका समस्या समाधानको कुरा कहिल्यै उठेन । विकास र सुशासनको एजेन्डा के हो भन्नेमा कुनै छलफल भएन । खाली नयाँ भनेर मात्र पुग्दैन ।”