• २३ फागुन २०८२, शनिबार

साउदीको इरानलाई चेतावनी

blog

रियाद, फागुन २३ गते । इरानबाट मिसाइल र ड्रोन आक्रमणको प्रयास भएपछि साउदी अरेबियाले तेहरानलाई ‘गलत गणना’ नगर्न चेतावनी दिएको छ । साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमानले क्षेत्रीय सुरक्षा र स्थिरतामा जोखिम बढ्ने भन्दै इरानलाई संयमता अपनाउन आग्रह गर्नुभयो ।

साउदी रक्षा मन्त्रालयका अनुसार पछिल्ला दिनमा राज्यका विभिन्न स्थानलाई लक्षित गरी गरिएको मिसाइल र ड्रोन आक्रमण सफल हुन नदिई अवरोध गरिएको छ । तीमध्ये अमेरिकी सैन्य कर्मचारी रहेको एक हवाई अड्डातर्फ प्रक्षेपण गरिएका क्षेप्यास्त्र पनि समावेश छन् । इरानविरुद्ध अमेरिका-इजरायलले सुरु गरेको सैन्य कारबाहीपछि मध्यपूर्वमा क्षेत्रीय युद्धको अवस्था सिर्जना भएको एक हप्तापछि तेहरानले खाडी क्षेत्रभरि आक्रमणको प्रयास गरिरहेको बताइएको छ ।

विश्वकै प्रमुख तेल निर्यातकर्तामध्ये एक साउदी अरेबियाले यस हप्ताको सुरुआतमा पूर्वी क्षेत्रमा रहेको रास तनुरा रिफाइनरीलाई लक्षित गरी कम्तीमा दुई वटा ड्रोन आक्रमण भएको जानकारी दिएको थियो । यसै सन्दर्भमा प्रिन्स खालिदले पाकिस्तानका सेनाप्रमुखसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जाल एक्समार्फत दुई देशबिचको छलफल सार्वजनिक गर्नुभएको छ । उक्त भेटमा साउदी अरेबियाविरुद्ध भएका इरानी आक्रमण र तिनलाई रोक्न आवश्यक उपायबारे विचार आदान-प्रदान भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रिन्स खालिदका अनुसार छलफलका क्रममा यस्ता आक्रमणले क्षेत्रीय सुरक्षा र स्थिरतालाई कमजोर बनाउने विषयमा जोड दिइएको थियो । साथै इरानी पक्षले विवेकपूर्ण व्यवहार गर्दै सम्भावित गलत आँकलनबाट बच्ने अपेक्षा व्यक्त गरिएको उहाँले बताउनुभयो । साउदी रक्षा मन्त्रालयले यसअघि राजधानी रियादको दक्षिणपूर्वमा रहेको प्रिन्स सुल्तान एयर बेसतर्फ प्रक्षेपण गरिएको एक ब्यालेस्टिक मिसाइललाई अवरोध गरी नष्ट गरिएको जनाएको थियो । 

उक्त जानकारी मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको थियो । पछि साउदी प्रेस एजेन्सीले सोही हवाई अड्डातर्फ अर्को क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेको छ । रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै उक्त मिसाइल पनि सफलतापूर्वक अवरोध गरिएको बताइएको छ । समाचार एजेन्सीका अनुसार संयुक्त अरब इमिरेट्सको सीमाना नजिकै रहेको शायबाह तेल क्षेत्रलाई लक्षित गरी कम्तीमा १७ वटा ड्रोन आक्रमण गरिएको थियो । 

ती सबै ड्रोन अवरोध गरी नष्ट गरिएको बताइएको छ । यसका अतिरिक्त रियादको पूर्वी क्षेत्रमा लक्षित गरी प्रक्षेपण गरिएका दुई वटा ड्रोन पनि रोकिएको रक्षा मन्त्रालयले जनाएको छ । लगातार भइरहेका यस्ता प्रयासले खाडी क्षेत्रको सुरक्षा अवस्थाबारे थप चिन्ता उत्पन्न गरिरहेको अधिकारीले बताएका छन् । रासस/एएफपी