• १३ साउन २०८१, आइतबार

स्ववियु मतदान जारी, क्याम्पसमा सुरक्षा व्यवस्था कडा

blog

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा मतदान हुँदै ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत ५ गते । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ ।

आइतबार बिहान ८ बजेबाट नै काठमाडौं उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्मसहरुमा मतदान शुरु भएको हो । स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो । ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान हुँदैछ ।

काठमाडौंको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । काठमाडौंका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शङ्करदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसहमा मतदान शुरु भएको छ । बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि नियमित हुन सकेको थिएन । यस पटक भने निर्वाचनका लागि अधिकांश क्याम्पसमा मतदान नै शुरु भइसकेको हो ।

विद्यार्थीहरु स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामबद्ध भएको देख्न सकिन्छ । स्ववियु निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।