• १३ असोज २०८१, आइतबार

ताप्लेजुङमा पिकअप दुर्घटना, तीन जना घाइते

blog

पाथीभरा सडकखण्डमा दुर्घटनामा परेको पिकअप भ्यान।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन्। फुङ्लिङ–पाथीभरा सडक खण्डअन्तर्गत सुकेटार नजिक बा ११ च २२७६ नम्बरको पिकअप शुक्रबार साँझपख दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार फुङ्लिङदेखि पाथीभरा जाँदै गरेको पिकअप दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको पनि प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो।

क्षमताभन्दा बढी यात्रु चढाएका कारण पिकअप अनियन्त्रित भएर दुर्घटनामा परेको बुझिएको कार्कीले बताउनुभयो। उहाँका अनुसार पिकअपमा १४ जना यात्रु सवार थिए। घाइते तीन जनाबाहेक सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। 

पिकअपका चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–४ का २४ वर्षीय आशिष् तामाङले प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।