• १३ साउन २०८१, आइतबार

भ्युटावरका संरचना व्यक्तिको जग्गामा

blog

इलाम नगरपालिकामा निर्माण भएको भ्युटावर । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, चैत ३ गते । इलाम नगरपालिकामा आउने पर्यटकहरूका लागि आकर्षणको मुख्य स्थान रहेको भ्युटावर व्यक्तिको जग्गा मिचेर निर्माण गरेको पाइएको छ । जिल्ला अदालत इलाममा परेको मुद्दामा अन्तिम सुनुवाइ गर्दै अदालतले व्यक्तिको नामको जग्गामा समेत पर्नेगरी नगरपालिकाले भ्युटावर निर्माण गरेको ठहर गरेको हो ।  

जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले भ्युटावरको एक भागले चर्चेको जग्गा भ्युटावर ‘पाताल’ भएपछि जग्गाधनीले नै चलन गर्न पाउने फैसला गरेको छ । फैसलामा भ्युटावर वरपरको जग्गासमेत व्यक्तिकै कब्जागरी फूलबारीसहितको भ्युटावर जाने बाटो निर्माण गरिएको ठहर भएको छ । 

भ्युटावर निर्माण गरिएको जग्गा स्थानीय प्रकाश थापाले आफ्नो नाममा रहेको भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो । थापाले आफ्नो नाममा भएको कित्ता नम्बर १६९० को १३ आना १ दाम जग्गा हडपेर भ्युटावर बनाइएको भन्दै २०७८ वैशाख १७ मा मुद्दा दर्ता गराउनुभएको थियो । 

थापाले इलाम नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलस्रोत मन्त्रालयसमेतलाई विपक्षी बनाइ मुद्दा दायर गर्नुभएको थियो । दायर मुद्दामा अदालतले खानेपानी कार्यालय र मन्त्रालयले यहाँको जग्गाको भोगाधिकार नगरपालिकालाई दिइसकेकाले यी दुई कार्यालयलाई विपक्षीको ‘दोषारोपण गर्न नमिल्ने’ फैसला गरिदिएको छ । 

‘प्रतिवादी नगरपालिकाले वादीको कित्ता नम्बर १६९० को न.नं. २ को १३ आना १ दाम जग्गा खिचोला गरेको देखिए पनि बनेको भ्युटावरलगायतको पक्की भौतिक संरचनाउपर कानुनले तोकेको हदम्यादभित्र नालिस गरेको नदेखिँदा भौतिक संरचनाउपर वादीको दाबी अहिले कायम हुने देखिएन’ फैसलामा उल्लेख गरिएको छ । 

यसैगरी ‘भ्युटावरसमेतको संरचनाबाहेकको अर्थात् भौतिक संरचना (पक्की) नभएको जग्गा इलाम नगरपालिकाले खिचोला गरेको देखिएको हुँदा न.नं.२ को भौतिक संरचनाले चर्चेको बाहेकको जग्गा वादीले प्रतिवादीको खिचोला मेटाइ चलन पाउने ठहर्छ । भौतिक संरचनाको हकमा वादीको कित्तामा परेको भाग पाताल भएका बखत वादीकै भोगाधिकार कायम भई चलन पाउने ठहर्छ’ फैसलामा भनिएको छ । 

फैसलामा ‘आर्थिक वर्ष २०६६–६७ देखि निर्माणको सुरसार गरी निर्माण सम्पन्न हुँदासम्मको अवधिमा यी वादीले आफ्नो जग्गाको खोजीनिती गरेको भन्ने देखिएन । वादीले आफ्नो जग्गाको स्वामित्वको पुर्जा बोकेको तर उचित रेखदेख र संरक्षणसहित भोग गरेको भन्ने अर्थबोध हुँदैन । यही कारण प्रतिवादी र नगरपालिकाले बेवारिसे जग्गा ठानी कब्जामा लिएको देखियो, परन्तु त्यसलाई कानुन सङ्गत मान्न सकिँदैन’ समेत उल्लेख छ । 

फैसलामा २०५५ मा खानेपानी डिभिजन कार्यालयले इलाम नगरपालिकालाई भोगचलन गर्ने सम्झौता गरेको पनि उल्लेख गरिएको छ । भ्युटावरसँग जोडिएको उक्त जग्गामा भने अहिले खानेपानी ट्याङ्की निर्माण भई सञ्चालन अवस्थामा रहेको जनाइएको छ ।