काठमाडौँ, चैत २६ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । १३ दिन लामो हिरासतबाट छुटे लगत्तै सामाजिक सञ्जालमार्फत उहाँले आभार प्रकट गर्नुभएको हो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु। मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’
सर्वोच्च अदालतको आदेशसँगै प्रहरी नियन्त्रणबाट मुक्त भएपछि बिहीबार ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा आफूलाई नियन्त्रणमा राखेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, "परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति म उच्च सम्मान व्यक्त गर्दछु ।"
आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी जनसमुदाय, कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति उहाँले आभार प्रकट गर्नुभएको हो । हिरासतमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारलाई समेत उहाँले धन्यवाद दिनुभएको छ ।
आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएका कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष ओलीले उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गर्नुभएको छ । "राज्य यस विषयमा उदासीन भएमा पार्टीले नै उपचार खर्च बेहोर्ने जानकारी गराउन चाहन्छु," वक्तव्यमा उल्लेख छ ।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण अध्यक्ष ओली केही दिन अस्पतालमै रहेर थप उपचार गराउनुहुने भएको छ । यस कठिन घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्ने पार्टीका नेता, कार्यकर्ता तथा समस्त शुभचिन्तकमा उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।