• १३ असोज २०८१, आइतबार

विपद् प्रतिकार्यसम्बन्धी स्थानीय समुदायलाई तालिम

blog

विपद् प्रतिकार्यसम्बन्धी तालिम उद्घाटनका अतिथिहरु। तस्विर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३ गते। ताप्लेजुङमा स्थानीय समुदायलाई विपद् प्रतिकार्यसम्बन्धी शिक्षा दिन तालिम सुरु गरिएको छ। विपद् प्रतिकार्यसम्बन्धी पूर्वतयारी र प्रतिकार्यका विषयमा स्थानीय समुदायलाई शिक्षा दिने उद्देश्यले यहाँको मैवाखोला गाउँपालिकाले समुदायमा आधारित विपद प्रतिकार्य तालिम सुरु गरेको हो। 

जोखिम न्यूनीकरण गर्न विपद् प्रतिकार्यमा प्रत्यक्ष संलग्न रहने सरोकारवालाको सहभागितामा शुक्रबारदेखि चार दिने तालिम सुरु भएको हो। गोर्खा वेल्फेयर ट्रस्टको प्राविधिक तथा युकेएडको आर्थिक दायित्व सहयोगमा मैवाखोला गाउँपालिकाले तालिम आयोजना गरेको हो। सदरमुकाम फुङ्लिङमा सुरु भएको तालिममा विपद प्रतिकार्यमा प्रत्यक्ष खट्ने स्थानीय जनप्रतिनिधि, शिक्षक, रेडक्रसकर्मी र अन्य गरी २४ जनाको सहभागिता छ।

तालिममा गोर्खा वेल्फेयर ट्रस्टका विपद् जोखिम न्यूनीकरण अधिकृत सुमेरु त्रिपाठी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापासहितका प्रशिक्षकले सहजीकरण गर्नुहुने आयोजकले जनाएको छ। अधिकृत त्रिपाठीका अनुसार गोर्खा वेल्फेयर ट्रस्ट र मैवाखोला गाउँपालिकाको सहकार्यमा खानेपानी, सरसफाई र विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम कार्यान्वयनको चरणमा छ। 

हाल कार्यक्रम कार्यान्वयनमा रहेको मैवाखोला गाउँपालिकाका स्थानीय समुदायलाई लक्षित गरी तालिममा सहयोग गरिएको त्रिपाठीले जानकारी दिनुभयो। उहाँका अनुसार प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना प्रणाली, विवरण सङ्कलन र क्षतिको अनुमान, फायर फाइटिङ, पानीमा डुबेकाको उद्धारजस्ता विपदमा तत्काल अपनाउनुपर्ने क्रियाकलापसम्बन्धी तालिम प्रदान गरिनेछ।  

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले विपद् न्यूनीकरण तथा प्रतिकार्यका लागि पालिका क्षेत्रका सरोकारवालालाई सैद्धान्तिक र व्यावहारिक शिक्षा दिनेगरी सुरु भएको तालिम प्रभावकारी हुने हुने विश्वास लिनुभयो। तालिममा विपद् जोखिम न्यूनीकरण साथै प्रतिकार्यमा समुदायस्तरबाट प्रत्यक्ष संलग्न हुने सबै पक्षलाई सहभागी गराएको अध्यक्ष वनेमले बताउनुभयो। गाउँपालिकाले आपतकालीन सेवा केन्द्र सञ्चालनको तयारी गरिरहेको र यसको सञ्चालन कार्यविधि निर्माणको क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले विपदसम्बन्धी स्थानीय समुदायलाई जानकारी गराउने र विपद् व्यवस्थापन तथा प्रतिकार्यबारे शिक्षा दिलाउने गरी तालिम आयोजना गरेकोमा प्रशंसा गर्नुभयो। विपद् न्यूनीकरण र प्रतिकार्यका लागि समुदायलाई जागरुक बनाउन साथै विपद्सम्बन्धी शिक्षा दिन आवश्यक भएकाले तालिम उपलब्धिमूलक हुने मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले बताउनुभयो। तालिम आउँदो सोमबारसम्म सञ्चालन हुनेछ।