एक किसानले ‘भर्चुअल रियालिटी’ (भीआर) चस्मा गाईलाई लगाइदिएर हरियाली चौरमा चरिरहेको अनुभव गराए र नतिजास्वरूप गाईले धेरै दूध दियो । गाईलाई फरक अनुभव गराउनुका साथै आरामदायी र खुसी बनाउँदा दूध बढी दिने यसअघि गरिएको एक अध्ययनले देखाएको थियो । त्यस अध्ययनलाई आधार बनाएर टर्कीका ती किसानले सन् २०२२ जनवरी ६ मा यस्तो परीक्षण गरेका थिए । भीआर प्रयोगको यो एक गजबको उदाहरण हो । भाइबहिनीहरू, यस पटक हामी ‘भर्चुअल रियालिटी’ अर्थात् भीआर के हो भन्ने बारेमा केही जानकारी लिऊँ है त ।
‘भर्चुअल रियालिटी’ अर्थात् भीआरका बारेमा तपाईंहरूले सुन्नु वा पढ्नु भएको छ ? तपाईंहरूमध्ये धेरैलाई यसका बारेमा जानकारी नहुन सक्छ । केही वर्षयता ‘भीआर’को निकै चर्चा चल्ने गरेको छ । प्रविधिका जानकारहरूले अब मोबाइल र टेलिभिजनको समय सकिँदैछ भन्न थालेका छन् । भाइबहिनीहरू, भर्चुअल रियालिटी एउटा यस्तो प्रविधि हो जसले कम्प्युटरमा बनाएका संसार र त्यहाँ रहेका स्थान, परिवेश, दृश्य र पात्रहरू यही तपाईंको अगाडिसँगै भएको जस्तो महसुस गराउँछ । यसले भर्चुअल दृश्य, भर्चुअल साउन्ड र अन्य धेरै भर्चुअल चिज वास्तविक रूपमा हामीसँगै छन् भन्ने अनुभूति गराउँछ । भाइबहिनीहरू, ‘भर्चुअल’ र ‘रियालिटी’को संयोजनबाट भर्चुअल रियालिटी बनेको छ । ‘भर्चुअल रियालिटी’ को अर्थ वास्तविकताजस्तै हो । यो साँच्चिकै जस्तो देखिए वा अनुभव भए पनि यो वास्तविक संसारको अनुभव भने हैन । यसको मतलब यो प्रविधिको प्रयोगबाट प्राप्त गर्न सकिने एक विशिष्ट प्रकारको वास्तविकताको अनुभूति हो । यथार्थमा यो मानिसले कम्प्युटरमा डिजाइन गरेको एक काल्पनिक परिवेश मात्रै हो । भाइबहिनीहरू, जब तपाई ‘भर्चुअल रियालिटी’ को काल्पनिक दुनियाँमा भीआरका उपकरणका प्रयोग गरी जानुहुन्छ तब तपाईंलाई यस्तो अनुभूति हुन्छ कि यो वास्तविकता हो । साँच्चै तपाईंको अगाडि केही हुँदैछ जस्तो अनुभव गर्नुहुन्छ । ‘भर्चुअल रियालिटी’ को दुनियामा पुग्दा जो कोहीलाई पनि आफू त्यही वातावरणमा छु जस्तो अनुभव हुन्छ ।
भर्चुअल रियालिटी एउटा यस्तो प्रविधि हो जसले कम्प्युटरमा बनाएका संसार र त्यहाँ रहेका स्थान, परिवेश, दृश्य र पात्रहरु यही तपाईंको अगाडिसँगै भएको जस्तो महसुस गराउँछ ।
त्यसो भए यस्तो अनुभव लिन के–के कुरा चाहिन्छ त ? यसका लागि तपाईंसँग एउटा भर्चुअल रियालिटी हेडसेट हुनुपर्छ र त्यसअनुसारको भर्चुअल रियालिटी संसार भएको मोबाइल/कम्प्युटर प्रोग्राम वा भिडियो आवश्यक पर्छ । भाइबहिनीहरू, भीआर हेडसेट लगाएर तपाई त्यस भर्चुअल संसारमा आफैँ सहभागी भएजस्तो अनुभवका साथ अवलोकन गर्नुहुन्छ । यसरी यस्तो भर्चुअल संसारमा जाँदा तपाईं वास्तविक संसारमा जस्तै ३६० डिग्रीमा हेर्न सक्नुहुन्छ । भर्चुअल संसारको सफ्टवेयर वा भिडियोमा तपाईंले तल–माथि, अगाडि पछाडि घुमेर हेर्न सक्नु हुन्छ ।
उदाहरणका लागि यदि तपाईं भीआर हेडसेट लगाएर कुनै स्थानको ३६० डिग्री भिडियो हेर्दै हुनुहुन्छ भने तपाईं वास्तविक संसारमा जस्तै दायाँ–बायाँ, माथि–तल आफू वरिपरि वास्तवमै आफैँ पुगेर घुमेको जसरी पूरै दृश्य हेर्न सक्नु हुन्छ ।
भाइबहिनीहरू, यस्तो भर्चुअल रियालिटीको संसारमा घुम्न रहर भए नेपालमा पनि धेरैजसो बिजनेस मल, ठूला सपिङ कम्प्लेक्स, सिनेमा हल वा फनपार्कलगायतका ठाउँमा निश्चित शुल्क तिरेपछि यस्तो कुरा हेर्न र अनुभव गर्न पाइन्छ । घरमै पनि मोबाइलबाटै भीआर सेटको मद्दतले भर्चुअल संसारको भ्रमण र अवलोकन गर्न सकिन्छ ।
अन्त्यमा अभिभावकका लागि सानो सुझाव, अन्य वैज्ञानिक खोज र आविष्कारजस्तै भर्चुअल रियालिटीको आफ्नै लाभ र जोखिम छन् । बालबालिकालाई यसको लतका रूपमा लाग्न नदिन अभिभावक चनाखो हुनुपर्छ । बालबालिकामा भीआरको प्रयोग अभिभावकको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ । बालबालिकालाई भीआरमा शैक्षिक र बालमैत्री सामाग्रीलगायतका ज्ञानवद्र्धक सामग्री देखाउनुपर्छ ।