• २० वैशाख २०८१, बिहिबार

काममा पनि शुभ शुभश्री

blog

कम उमेरमा नै उचित प्रशिक्षण, मार्गदर्शन पायो भने राम्रो प्रतिभा भएका खेलाडीले पक्कै अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा खेलद्वारा कायम गर्न सक्छ । अहिले शुभश्री श्रेष्ठको परिवारले उनलाई सोही सोचाइले प्रेरित भएर टेबलटेनिसमा लगाउनुभएको छ । हुन त शुभश्रीको परिवार नै टेबलटेनिस खेलप्रति समर्पित छ । शुभश्रीका बाजे गोवद्र्धन श्रेष्ठ, फूपू ज्योत्सना श्रेष्ठ, बुवा प्रितेश श्रेष्ठ पनि टेबलटेनिस खेलाडी हुनुहुन्थ्यो । ‘वंशाणुगत गुण नै होला, शुभश्री पनि सानैदेखि टेबलटेनिसमा लोभिइन् र सानै उमेरमा च्याम्पियन भएर निस्किइन् ।

शुभश्री अहिले १३ वर्षकी भइन् तर चार वर्षअघि दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा शुभश्री चर्चामा आइसकेकी थिइन् । त्यसबेला मात्र आठ वर्षकी शुभश्री सो राष्ट्रिय प्रतियोगितामा टेबलटेनिसकी सबभन्दा कम उमेरकी खेलाडी थिइन् । त्यसबेला नै १४ वर्ष उमेर समूहसम्मका अन्य खेलाडीलाई पछि पार्दै शुभश्री राष्ट्रिय खेलकुदमा खेल्न योग्य भएकी थिइन् । रमाइलो कुरा के थियो भने त्यसबेला शुभश्रीका हजुरबुवा गोवद्र्धन श्रेष्ठ सोही प्रतियोगितामा सबभन्दा बढी उमेर (६७ वर्ष)का खेलाडी हुनुहुन्थ्यो । त्यसैले पनि बाजेनातिनीको यो जोडीको नेपाली खेलकुद वृत्तमा राम्रै चर्चा भएको थियो ।

आफ्ना हजुरबुवा पूर्वएसएसपी गोवद्र्धन श्रेष्ठकै प्रेरणाले टेबलटेनिसमा लागेकी शुभश्रीले यसबीचमा यस खेलमा थुप्रै सफलता हात पारिसकेकी छन् । गत वर्ष माल्दिभ्समा भएको दक्षिण एसियन जुनियर एन्ड र क्याडेट टेबलटेनिस प्रतियोगितामा शुभश्रीले दोस्रो स्थानमा रहेर नेपाललाई पदक दिलाइन् । जुन उनको अहिलेसम्मको एक मात्र अन्तर्राष्ट्रिय पदक हो तर लामो रेसको घोडा मानिएकी शुभश्रीबाट भविष्यमा नेपालालई यस्ता थुप्रै पदक हासिल हुने आशा गरिएको छ । गत माघ महिनामा भएको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लब महिला टिम इभेन्टमा च्याम्पियन भयो । सो टिममा शुभश्री पनि थिइन् । विदेशी खेलाडीको समेत सहभागिता रहेको सम्झना कपमा शुभश्री क्वाटरफाइनलमा नेपालकी शीर्ष खेलाडीमध्ये एक रविना महर्जनसँग हारिन् । रविना फाइनलसम्म पुगेकी थिइन् । 

सन् २०२२ मा प्रथम मिलन मेमोरियल राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता, सन् २०२१ मा नेसनल ओपन ब्वाइज एन्ड गल्र्स टेबलटेनिसमा यू–१२, सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस गल्र्स यू–१०, सन् २०१९ मा एसएनबी मेमोरियल राष्ट्रिय अन्तर विद्यालय टेबलटेनिस, सन् २०१८ मा दसौँ पुण्यमान वज्राचार्य स्मृति राष्ट्रिय खुल्ला टेबलटेनिस यू–१० र सन् २०१७ मा सौर्य अन्तर्राष्ट्रिय अन्तर विद्यालय च्याम्पियनसिपमा च्याम्पियन भएर शुभश्रीले आफ्नो सङ्ग्रहमा थुप्रै ट्रफी राखिसकेकी छन् । यसैगरी सन् २०२१ मै अन्तर वडा च्याम्पियनसिपमा महिला टिम इभेन्टमा कांस्य, सन् २०२० मा हरेराम जोशी स्मृति ओपन टेबलटेनिसमा रजत, हरेराम स्मृति टेबलटेनिसमा रजत, सन् २०१८ मा तेस्रो एलए नेट च्याम्पियनसिपमा गल्र्स क्याडेट कांस्य पनि शुभश्रीले हासिल गरेका अन्य प्रतिष्ठित पदक हुन् ।

छ वर्षकै उमेरमा पहिलो पटक टेबलटेनिस ब्याट हातमा थामेर टेबलटेनिस हलमा पुगेकी हुन् शुभश्री । त्यसपछि त अहिलेसम्म उनको टेबलटेनिस यात्रा अनवरत छ । शुभश्रीको लक्ष्य नेपालकी नम्बर एक खेलाडी बन्नु हो । सानो उमेरकी भए पनि सफल हुन मेहनतबाहेक अन्य कुनै बाटो छैन भन्ने थाहा छ शुभश्रीलाई । शुभश्री युलेन्स स्कुलमा कक्षा ७ मा अध्ययन गर्छिन् । दिउँसको पूरै समय स्कुलमा बित्छ तर पनि शुभश्रीले दिनको दुई सिफ्टमा कडा अभ्यास गरिरहेकी छन् । पढाइमा पनि शुभश्री राम्रो छ । सुरुमा नेपालकी नम्बर एक महिला टेबलटेनिस खेलाडी नविता श्रेष्ठबाट प्रशिक्षण लिएकी शुभश्रीको अहिलेका प्रशिक्षक विनेश खानिया हुनुहुन्छ । यसबीच बुवा प्रितेशले शुभश्रीलाई टेबलटेनिसको अभ्यासका लागि एक महिना चिनमा पनि लग्नुभएको छ । उहाँले चिनको एक क्लबसँग सहकार्य गरेर आफ्नै खर्चमा सो देशमा लगेर शुभश्रीको खेल थप निखार्नुभएको हो । चिन टेबलटेनिसको सबभन्दा धेरै विश्व च्याम्पियन जन्माउने देश हो ।

बुवा प्रितेश पनि शुभश्री भविष्यमा नेपालकै एक राम्रो टेबलटेनिस खेलाडी बनेर निस्किन्छ भन्ने विश्वासमा हुनुहुन्छ । “शुभश्रीमा प्रतिभा छ, उनी मानसिक रूपमा निकै सबल छ । हारिरहेको खेल पनि कमब्याक गरेर जित्न सक्ने खुबी छ । मुख्य कुरा शुभश्रीको भित्री मनदेखि खेल्ने इच्छा छ । खेलमा एकदम ध्यान छ । यस खेलप्रति लगावले धेरै अगाडि बढ्छ जस्तो लाग्छ । उनले छोटो समयमा गरेको प्रगति यसको उदाहरण पनि हो ।” बुबा प्रितेश भन्नुहुन्छ ।