काठमाडौँ, चैत ३ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैटौँ संस्करण बिहीबारबाट काठमाडौँमा सुरु भएको छ । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको महोत्सवमा ३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुँदै छ भने ९५ प्रतियोगी चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवको उद्घाटनमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रिमियर गरिएको थियो । ‘विश्वभरका कथाहरूको उत्सव’ नारासहित सुरु भएको महोत्सव ६ गतेसम्म क्यूएफएक्स चेनअन्तर्गतका चार हल र पर्यटन बोर्डको प्रेक्षालयमा सञ्चालन हुनेछ ।
क्यूएफएक्सको सिभिल मल, छाया सेन्टर, लबिम मल र भक्तपुरको भाटभटेनी हलमा चलचित्र प्रदर्शन हुनेछन् । मास्टरक्लास, छलफललगायतका कार्यक्रम भने पर्यटन बोर्डमा हुनेछन् । यस पटक निफमा सात विधामा १४ पुरस्कार वितरण हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा–छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरू प्रतिस्पर्धामा छन् । महोत्सवको उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्री वसुन्धरा भुसाल, निफका अध्यक्ष केपी पाठकलगायत विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।