काठमाडौँ, चैत ३ गते । निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बङ्गालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलिगुडीस्थित एक अस्पतालमा उहाँको निधन भएको जनाइएको छ ।
२०३५ सालमा प्रदर्शन भएको ‘परालको आगो’ निर्देशन गर्दै चलचित्र क्षेत्रमा आउनुभएका सुब्बाले ‘बाँच्न चाहनेहरू’, ‘मसाल’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘दिदी’, ‘चट्याङ’ र ‘भीष्म प्रतिज्ञा’जस्ता व्यावसायिक र समीक्षात्मक रूपमा चर्चित नेपाली चलचित्र निर्देशन गर्नुभएको छ ।
४० को दशकमा नेपाल आउनुभएका उहाँले चर्चित नेपाली चलचित्र र टेलिफिल्म निर्देशन गरेर ५० को दशकमा पुनः दार्जिलिङ फर्किनुभएको थियो ।