• ८ मंसिर २०८१, शनिबार

धौलागिरी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

blog

धौलागिरी बहुमुखी क्याम्पस बागलुङ । तस्बिर :नवीन शिशिर विक

नवीन शिशिर विक
बागलुङ, चैत २ गते । 
धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि चैत ५ गतेका लागि त्रिभुवन विश्व विद्यालयले तोकेका निर्वाचन स्थगित भएको हो ।

निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन संयोजकको जिम्मेवारीबाट फागुन ३० गते राजीनामा दिनुभएको थियो । निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको धौलागिरि बहुमुखी क्याम्पस बागलुङका प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

अखिल (क्रान्तिकारी) लगायतका पाँच विद्यार्थी सङ्गठनले विद्यार्थीहरूको परिचयपत्र नयाँ जारी गर्नुपर्ने लगायतका माग राख्दै निर्वाचन कार्यालयमा ताला लगाएको थियो । पटक–पटकको वार्ता र छलफलबाट समस्या समाधान नभएपछि नेपाल विद्यार्थी सङ्घले ताला फुटाएको थियो ।

निर्वाचन अधिकृतको राजीनामा पछि स्थगित भएको निर्वाचनको अर्को मिति तोक्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी सङ्घले क्याम्पसमा धर्ना दिएको थियो । विद्यार्थीको आन्दोलनपछि क्याम्पस प्रशासनले चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटै विद्यार्थी संगठनबीच आम सहमति जुटे चैत १८ गतेभित्र निर्वाचन गर्न सकिने जनाएको छ ।

नेविसंघका विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् । ‘‘हामीले नयाँ मिति घोषणका लागि केन्द्रमा अनुमति मागेका छौँ ।,’’ क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो, ‘‘चैत ६ गते अघि सम्भावना छैनन्, त्यसपछि १८ गतेभित्र कुनै मितिमा गर्न सकिन्छ ।’’

चैत २१ गतेपछि चौथो वर्षका विद्यार्थीको परीक्षा सकिने र उनीहरू मतदाता नरहने हुँदा निर्वाचन गर्न नसकिने उहाँको भनाइ छ । चैत १२ गतेदेखि चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ । निर्वाचन स्थगित भएको ३० दिन भित्र क्याम्पस प्रमुखले निर्वाचनको गराउन सक्ने प्रावधान छ ।

१० वटै विद्यार्थी सङ्गठनले संयुक्त रूपमा चुनावी अपिल गरे चुनाव गर्न सकिने क्याम्पस प्रमुखको भनाइ छ । विद्यार्थी संगठनबीच आम सहमति बिना निर्वाचन नहुने उहाँले स्पष्ट पार्नुभयो । जनधनको क्षति गरेर चुनाव गर्न नसकिने क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ ।