ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २६ गते। बेनी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा यस वर्ष सुधार देखिएको छ। मंगलबार प्रकाशित नतिजाअनुसार ७९.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। अघिल्लो वर्षको तुलनामा अधिकांश विद्यालयको शैक्षिक उपलब्धि सुधारिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।
यस वर्ष ३३ विद्यालयमध्ये चार विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन्। केही विद्यालयको नतिजा अझै कमजोर देखिएकाले शैक्षिक गुणस्तर सुधारमा थप ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्।
अघिल्लो वर्ष परीक्षामा सहभागी ३३ विद्यालयमध्ये दुईवटा सामुदायिक विद्यालयको नतिजा शून्य थियो भने ११ वटा विद्यालय कमजोर नतिजामा परेका थिए। यस वर्ष ९२–९७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालय ७ वटा रहेका छन्।
पाँचवटा विद्यालयले ८०–८८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन्। ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने विद्यालय एकवटा, ६०–६६ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने विद्यालय पाँचवटा छन्। पचास प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने तीन, चालिस प्रतिशत तीन, ३०–३६ प्रतिशत तीन र अत्यन्त न्यून विद्यार्थी उत्तीर्ण हुने दुई विद्यालय रहेका छन्।
शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने संस्थागत विद्यालय तर्फ माउन्ट एभरेष्ट आवासीय मावि र बुद्ध एकेडेमी रहेका छन्। सामुदायिक विद्यालयअन्तर्गत रामचन्द्र मावि र राधाकृष्ण आधारभूत विद्यालयले शतप्रतिशत उत्तीर्ण सुनिश्चित गरेका छन्।
संस्थागत विद्यालयमा बेनी बोर्डिङ आवासीय मावि ९७.३० प्रतिशत, लिटिल गार्डेन एकेडेमी ९६ प्रतिशत, म्याग्दी एकेडेमी ९५.६५ प्रतिशत, न्यू वेष्ट पोइन्ट आवासीय मावि ९४.७८ प्रतिशत, गलेश्वर आदर्श आवासीय मावि ९४.७४ प्रतिशत, तातोपानी बोर्डिङ स्कुल ८७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
सामुदायिक विद्यालयमा जामुनाखर्क मावि ९२.५९ प्रतिशत, बेनी सामुदायिक मावि ९२.१७ प्रतिशत, राष्ट्रिय मावि ८८.२४ प्रतिशत, पौलत्स्य मावि ८७.५० प्रतिशत, प्रकाश मावि ८०.६५ प्रतिशत, सरस्वती आधारभूत विद्यालय ८० प्रतिशत, दिपक मावि ७५ प्रतिशत, थाकनपोखरी आधारभूत विद्यालय ६६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
अत्यन्त कम नतिजा देखाउने विद्यालयमा बालमन्दिर आधारभूत विद्यालय १४.२९ प्रतिशत र जनकल्याण मावि १३.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षालाई मर्यादित र विश्वासनीय बनाउन ९ वटा परीक्षा केन्द्र कायम गरिएका थिए। फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो। उत्तरपुस्ती सम्बन्धित शिक्षकहरूले परीक्षण गरि डिकोडिङ गरी नतिजा प्रकाशित गरिएको छ।
सार्वजनिक परिणाम अनुसार यस वर्ष पनि केही विद्यालयको नतिजा कमजोर देखिएको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव क्षेत्रबहादुर भण्डारीले कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, जनप्रतिनिधि र सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो। यसका लागि नगरपालिकाले शैक्षिक सुधार कार्ययोजना बनाएर अघि बढाउने योजना बनाएको छ।
जम्मा ८०१ विद्यार्थीमध्ये ७९८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ६३४ विद्यार्थी उत्तीर्ण भएका छन्। आगामी वैशाख ७ र ९ गते सञ्चालन हुने ग्रेड वृद्धिको परीक्षामा १५१ विद्यार्थी सहभागी हुने र १३ जनाले ग्रेड वृद्धि परीक्षा नपाउने शिक्षा शाखाले जानकारी दिएको छ।