• १० मंसिर २०८१, सोमबार

जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सुरु

blog

जुम्लामा वल्र्ड लिंक सेवा उद्घाटन कार्यक्रम। तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, चैत १ गते। निजी क्षेत्रको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ। वर्ल्ड लिङ्कले जुम्ला सदरमुकाम खलङ्गामा औपचारिक कार्यक्रम गरेर एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो।

जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्ड लिङ्कले बताएको छ। अध्यक्ष दिलीप अग्रवालले जुम्लामा यो सेवा दिन पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँका अनुसार काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिङ्गो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले जोड्नुभयो। जुम्ला सेवाको उद्घाटन गर्न अध्यक्ष अग्रवाल र लगानीकर्ता ब्रिटिस इन्भेस्टमेन्ट कम्पनी (बीबीआई) प्रतिनिधि बुधबार जुम्ला पुग्नु भएको थियो। 

उद्घाटन कार्यक्रममा जुम्ला पुगेका वर्ल्ड लिङ्कका महाप्रबन्धक किरण गौतमले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर सेवा भएको बताउनुभयो। लगानीको हिसाबले त हामी घाटामा छौँ। तर सेवाको हिसाबले कर्णालीको जुम्ला जोड्न पाउँदा खुसी भएको उहाँले बताउनुभयो। उहाँका अनुसार काठमाडौं बराबरकै उच्च गतिको इन्टरनेट जुम्ला र पुरै कर्णालीमा पुर्‍याउने लक्ष्यमा हामी भएको दाबी गर्नुभयो। 

जुम्लामा २०७९ साल असारबाट सेवा सुरु गरेको इन्टरनेट सेवाको जुम्लामा वर्ल्ड लिङ्कको टोली आएर यस बेला औपचारिक शुभारम्भ गरेको छ। अहिलेसम्म ५२५ ग्राहक पुगिसकेका वर्ल्ड लिङ्क जुम्ला कार्यालयले जानकारी दिएको छ। 

महाप्रबन्धक गौतमका अनुसार नेपालमा २७ वर्षदेखि काम गर्दै आएको वर्ल्ड लिङ्कका हाल सात लाख ग्राहक रहेका छन्। उहाँले यो इन्टरनेटको दिगोपनाको विषयमा एउटै बाटोबाट मात्रै नभई मुस्ताङ डोल्पा हुँदै जुम्लासमेत जोड्ने योजना रहको जानकारी दिनुभयो।