• १३ असोज २०८१, आइतबार

जलाशय पुरिँदा कालिगण्डकी जलयात्रा सङ्कटमा

blog

कालिगण्डकी एमा सञ्चालनमा आएको स्टीमर । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, चैत १ गते ।
‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाले निर्माण भएको बाँधमा बनेको जलाशय सञ्चालनमा आएको जलयात्रा पछिल्लो समय सङ्कटमा परेको छ । कालिगण्डकी करिडोर र छेउछाउमा मोटरबाटोकाे माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो ।

मिर्मीबाट धार्मिकस्थल सेतिबेनी जान र स्थानीय पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले बनाइएको छ किलोमिटर जलाशय पुरिएर दुई किलोमिटर जलयात्रा छोटिएको छ । 

२० वर्ष पहिला बनेको आँधिखोला ड्यामबाट सेतिबेनीसम्म नै जलयात्रा हुने गरेकोमा अहिले दुई किमी वरै झरेर शिलाको दर्शनमा पर्यटक जानुपर्ने बाध्यता  छ ।

शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका कोषाध्यक्ष प्रेम माझीले मिर्मी आँधीमुहानदेखि पर्वतको सेतीवेणी शालिग्राम शिलासम्मको जलयात्रा छोटिँदा पर्यटकको अभाव हुन थालेको बताउनुभो । 

कोषाध्यक्ष माझीले जलाशय पुरिँदा जलयात्रा छोटिँदा गल्याङबाटै सडकको प्रयोग गरेर स्वदेशी तथा विदेशी पर्यटक सेतिबेनी पुग्ने गरेको बताउनुभयो । 

बाहिरका पर्यटक आउँदा र भ्रमणटोली आउँदामात्र जलयात्रा हुने बताउनुहुँदै माझीले पुरिएको कालिगण्डकीलाई व्यवस्थापन गर्न नसके कुनै समय जलयात्रा बन्द हुने बताउनुभयो । 

२०५९ सालमा हाते डुङ्गाबाट सुरु भएको जलयात्रा छ वर्षमा १० स्टीमरमा पुगेको थियो । जलयात्राको १९ वर्षमा दुई वटा माउण्ट मकालु फाइबर बोट १२ वटा स्टीमर रहेकोमा २०७८ साल असोज १० गते पहिरोसँगै आएको बाढीले दुबै फाइबर बोटसहित नौ वटामा क्षति पुर्‍याएको थियो भने तीन वटामा जलयात्रा सीमित भएको थियो ।

जलाशय पुरिएर स्टीमरको नियमितता नहुँदा यात्रुको अभावमा कतिपय पर्यटकले महँगो शुल्कमा स्टीमर रिजर्भ गर्न बाध्य हुनुपरेको छ । कुनै समय दुई तीन पटकसम्म दश स्टीमरले जलयात्रा गराउने गरेकोमा अहिले रहेका तीन वटाले एक पटक जलयात्रा गराउन धौ धौ रहेको माझीको भनाइ थियो ।

बस तथा ट्रकको इन्जिनको प्रयोग गरेर बनाएको एक स्टीमरले एक चोटीमा एक सय जनासम्म बोक्ने गरेको छ भने एकोहोरो दुई सय भाडा निर्धारण गरिएको छ ।

जलाशय पुरिँदा स्टीमर चलाएर जीविकोपार्जन गरेका धेरै युवाले बेरोजगार हुनुपरेको छ ।